५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ चरणमा मध्यपूर्व युद्ध : इरानद्वारा कतारसहित खाडी देशका ऊर्जा केन्द्रमा भीषण आक्रमण

इजरायल र इरानबिच जारी युद्धले अब प्रत्यक्ष रूपमा खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ। इरानी क्षेप्यास्त्रहरूले कतारको औद्योगिक सहर रास लाफानमा प्रहार गरेपछि त्यहाँ भीषण आगलागी भएको छ।

कतारले विश्वकै ठूलो तरल प्राकृतिक ग्यास उत्पादन केन्द्रमा व्यापक क्षति पुगेको पुष्टि गरेको छ। यस आक्रमण लगत्तै कतारले इरानी दूतावासका सैन्य र सुरक्षाकर्मीहरूलाई तत्काल देश छोड्न आदेश दिएको छ। उनीहरूलाई 'अवाञ्छित व्यक्ति' घोषणा गरिएको छ।

यस घटनापछि संयुक्त अरब इमिरेट्सले अबु धाबी नजिकैको हबसान ग्यास केन्द्र र अन्य ऊर्जा स्थलहरूमा आक्रमण भएको खबर आएपछि आफ्नो सतर्कता स्तर बढाएको भनेको छ। साउदी अरबले पनि आफ्ना केही ठूला रिफाइनरीहरूमा आक्रमण भएको पुष्टि गरेको छ। यद्यपि उसले धेरैजसो ड्रोन र क्षेप्यास्त्र आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ। रियादले इरानको यो कदमले बाँकी रहेको थोरै विश्वासलाई पनि पूर्ण रूपमा समाप्त गरिदिएको बताएको छ।

पछिल्लो तनाव इजरायलले इरानको साउथ पार्स ग्यास केन्द्रमा आक्रमण गरेपछि सुरु भएको हो। त्यो केन्द्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास केन्द्र हो, जसलाई कतारले नर्थ डोम भन्दछ। इरानी पक्षमा आगलागी भएको र उत्पादन प्रभावित भएको खबरहरू आएका छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले यसको अनपेक्षित परिणामले पूरै विश्वलाई असर गर्न सक्ने चेतावनी दिएका छन्। इरानले यसलाई खतरनाक र गैरजिम्मेवार कदम भन्दै प्रतिशोधात्मक आक्रमण सुरु गरेको छ, जसमा इजरायलको तेल अभिभ नजिकै चार जनाको मृत्यु भएको छ। लेबनानमा इजरायली सेनाको आक्रमण जारी रहँदा मृतकको संख्या बढ्दै गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत साउथ पार्समा भएको इजरायली आक्रमणको आलोचना गर्दै यसमा कतारको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार इजरायलले अब साउथ पार्समा पुनः आक्रमण गर्ने छैन। उनले निर्दोष कतारमाथि आक्रमण गरेर इरानले मूर्खतापूर्ण निर्णय गरेको पनि बताए। ट्रम्पले यदि कतारको ग्यास सुविधाहरूमा फेरि आक्रमण भए इजरायलको सहमति बिना नै इरानको ग्यास केन्द्रको ठूलो हिस्सालाई यसअघि कहिल्यै नदेखेको स्तरमा ध्वस्त पारिदिने चेतावनी समेत दिएका छन्। 

अल जजीरले साउदी राजनीतिक विश्लेषकलाई उदृधत गर्दै खाडी देशहरूले शान्तिका लागि प्रयास गरे पनि इरानले उनीहरूमाथि नै आक्रमण गरिरहेको भनेको छ, जसका कारण सबै देशहरू आक्रोशित छन्। इरानले ओमान जस्ता मध्यस्थकर्ताहरू मार्फत अमेरिकालाई सन्देश पठाए पनि आफ्नै छिमेकीहरूलाई निशाना बनाउनुले इरान भित्र रिभोलुसनरी गार्ड्सहरूको बढ्दो प्रभाव र आन्तरिक असन्तुलनलाई संकेत गरेको खाडी देशहरूको बुझाइ छ।

यस युद्धले विश्वव्यापी ऊर्जा बजारमा ठूलो प्रभाव पारेको छ। तेलको मूल्य प्रति ब्यारेल ११० डलर नजिक पुगेको छ भने ग्यास आपूर्तिमा अवरोध आउने जोखिम बढेको छ। यो ऊर्जा युद्धको एउटा नयाँ र अस्थायी चरण हो, जसले क्षेत्रीय स्थिरता र विश्व अर्थतन्त्रलाई थप संकटमा पारेको छ। एजेन्सी

प्रकाशित: ५ चैत्र २०८२ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App