अमेरिकाको न्युयोर्कस्थित चर्चित टाइम्स स्क्वायरमा छुरा प्रहार गरी एक महिलाको हत्या गर्ने ४९ वर्षीया पामेला सिस्नेरोस पनि प्रहरीको गोली लागेर मारिएको छिन्।
घटनामा ६८ वर्षीय एक पुरुष पनि घाइते भएका छन्। उनको अवस्था स्थिर रहेको न्युयोर्क सहरको प्रहरी विभाग (एनवाईपीडी) ले जनाएको छ। स्थानीय समयअनुसार सोमबार साँझ करिब ४:३० बजे क्वीन्सकी सिस्नेरोसले किनमेलको झोलाबाट दुई वटा चक्कु निकालेर सबवेबाट बाहिर आएका पुरुषलाई पेटमा छुरा हानेकी थिइन्। त्यसको केही सेकेन्डपछि उनले ३२ वर्षीया महिलामाथि पनि छुरा प्रहार गरेकी थिइन्। घाइते दुवैलाई अस्पताल लगिएकोमा महिलाको मृत्यु भएको हो।
आक्रमणपछि प्रहरीले सिस्नेरोसलाई करिब चार मिनेटसम्म चक्कु फाल्न आग्रह गरेको थियो। उनले अस्वीकार गरेपछि प्रहरीले टेसर प्रयोग गरेको थियो। त्यसबाट पनि नियन्त्रणमा नआएपछि उनी चक्कु हल्लाउँदै प्रहरीतर्फ अघि बढेकी थिइन्। त्यसपछि दुई प्रहरीले गोली चलाएका थिए।
प्रहरी आयुक्त जेसिका टिस्चका अनुसार सिस्नेरोससँग मानसिक स्वास्थ्यसम्बन्धी पुरानो प्रहरी अभिलेख थियो। सन् २०१८ र २०१९ का घटनामा उनको नाम जोडिएको भए पनि यसअघि पक्राउ परेको अभिलेख भने थिएन। घटनामा आतंकवादी उद्देश्य रहेको कुनै प्रमाण नभेटिएको प्रहरीले जनाएको छ।
यसबारे न्युयोर्कका मेयर जोहरान ममदानीले घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘हामीलाई थाहा छ, आज भएको घटनाले ती परिवारहरूको जीवन चकनाचुर भएको छ।’ उनले घटनास्थलमा खटिएका एनवाईपीडीका प्रहरीको प्रशंसा गर्दै उनीहरूको कारबाहीले थप क्षति हुनबाट जोगाएको बताएका छन्।
घटनापछि प्रहरीले ७औं एभेन्युको केही भाग बन्द गरेर सर्वसाधारणलाई क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो। प्रहरीको गोली प्रहारबारे छुट्टै अनुसन्धान भइरहेको छ। यो वर्ष टाइम्स स्क्वायरमा भएको यो दोस्रो घातक छुरा प्रहारको घटना हो। एजेन्सी
प्रकाशित: १६ भाद्र २०८३ ०८:०४ मंगलबार





