१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढीको छैटौं दिन : १० हजार ४५१ जनाको उद्धार, ४११ हवाइ उडान

फाइल तस्बिर

रसुवाको भोटेकोशीमा गत साता बुधबार बिहान आएको बाढीपछि छैटौं दिन सोमबार पनि खोज तथा उद्धारको काम जारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार अभियानअन्तर्गत नेपाली सेनाले हवाइ माध्यमबाट २५२ जना विदेशी र तीन हजार ३४४ जना नेपालीको उद्धार गरेको छ। आइतबार जलविद्युत आयोजनाबाट १५ जना चिनियाँ र सात जना भारतीय नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म ४११ पटक हवाइ उडान भएका छन्। सोमबार मात्रै १७ वटा उडान भएका छन्।

यसबिच करिब चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा रसुवाबाट ८६५, नुवाकोटबाट एक हजार ५५८ र मकवानपुरबाट ६५ जना रहेका छन्। जलविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहीन रहेको विवरण आएको छ। त्यस्तै, ५९२ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको पाइएको छ। विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। 

लाङटाङ राष्ट्रिय निकुञ्जबाट तीन जना र क्वारेन्टाइन कार्यालयबाट तीन जना सम्पर्कविहीन छन्। सेना, प्रहरी र सशस्त्रका जम्मा ८३ जना पनि सम्पर्कमा आएका छैनन्। त्यस्तै भन्सार कार्यालय र अध्यागमन कार्यालयका १८ जना पनि सम्पर्कविहीन छन्। 

प्राधिकरणका अनुसार बाढीबाट हालसम्म ९०३ जनाको मानवीय क्षति भएको छ। विभिन्न जिल्लाबाट २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

May be an image of map and text

प्रकाशित: १५ भाद्र २०८३ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App