भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जिल्लाका कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश भाग तथा गोसाइँकुण्ड क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको हो।
प्राधिकरणका अनुसार कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश बस्तीहरूमा बिजुली सञ्चालन भइसकेको छ। यसैगरी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गतको जिल्ला सदरमुकाम धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा नियमित बनेको छ।
बाढीले विद्युत् संरचनामा क्षति पुर्याएपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक विकटताका बाबजुद प्राधिकरणको प्राविधिक टोली मर्मत तथा पुनःस्थापनामा खटिएको थियो।
प्राविधिकहरूको निरन्तरको प्रयासपछि विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै प्रभावित क्षेत्रको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
यसैबीच, प्राधिकरणले विद्युत् सेवा अवरुद्ध रहेका बाँकी प्रभावित क्षेत्रमा समेत यथाशीघ्र आपूर्ति नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।
प्रकाशित: १५ भाद्र २०८३ १६:४७ सोमबार





