‘मनपर्ने अमेरिकी न्यायाधीश फ्रयांक क्याप्रियो। यिनी संसारमै सामाजिक सञ्जालमा भाइरल छन्। यिनको सुनुवाइ प्रक्रिया र न्यायको कारण म पनि खुब हेर्थें। कतिपयले मुद्दाले भावुक पनि बनाए,’ चर्चित कार्टुनिस्ट राजेश केसीले क्याप्रियोको आकर्षक स्केच बनाउँदै सामाजिक सञ्जालमा लेखे, ‘यिनको तराजुमा एकापट्टि कानुन र अर्कापट्टि मानवीय संवेदना देख्छु म। उनको दुई दिनअघि निधन भयो। ...अलबिदा।’
अमेरिकाका प्रसिद्ध न्यायाधीश क्याप्रियोको ८८ वर्षको उमेरमा बुधबार निधन भएसँगै उनीहरूप्रति संसारभरबाट श्रद्धाञ्जलीका शब्द ओइरिएका छन्। उनको कार्यक्रम हेर्ने थुप्रै नेपालीले पनि उनको निधनमा पूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
टेलिभिजनमा सन् २०१८ देखि २०२० सम्म प्रसारण भएको अदालती कार्यक्रम ‘कट इन प्रोभिडेन्स’ले संसारभरका मानिसलाई कानुनी निर्णय सधैं कठोर हुँदैन भन्ने सिकाएको छ। निर्णय कडाइका साथ मात्र नभई दया र समझदारीका आधारमा पनि दिन सकिन्छ भनेर करुणमय पाठ पढाएको छ।
न्यायको कुर्सीमा बसेका जीवित व्यक्तिलाई देवताकै रूपमा चित्रण गर्दै न्यायमूर्ति भनिएको हो। त्यसैले न्यायमूर्तिको साक्षात् दर्शन यिनै न्यायाधीशले गराए। त्यस्ता न्यायाधीश जोसँग भावना र न्याय गर्ने मन थियो। क्याप्रियो आफ्नो उक्त सोबाट विश्वव्यापी रूपमा प्रसिद्ध भए। अझै पनि संसारभर उनको अदालती कारबाहीका भिडियो हेर्ने गरिन्छ। जहाँ उनले गरेका कतिपय फैसलाले सर्वसाधारणको मन जित्ने गरेको छ। उनको न्याय गर्ने शैली उनको अनुहारमा देखिने करुण भावका कारण उनी सबैको प्रिय बने।
‘उनले देखाएको न्याय हाम्रो देशका अदालतका लागि पाठ हो,’ सामाजिक सञ्जालमा प्रतिमा कार्की लेख्छिन्, ‘कानुन किताबका अक्षर मात्र होइन, समाजको मन बुझ्ने अभ्यास पनि हो भन्ने उनले देखाएका छन्।’
क्याप्रियोको जन्म अमेरिकाको रोड आइल्यान्डमा भएको थियो। इटालियन सामान्य आप्रवासी परिवारमा जन्मिएका उनी सदैव चर्चामा रहे। मेहनत, अनुशासन र परिवारप्रतिको निष्ठाले उनलाई शिक्षा र कानुनी पेसातर्फ अघि बढायो। न्याय सम्पादन गर्ने उनको शैलीको अमेरिकामा मात्र होइन, संसार प्रशंसक भयो।
‘उनको लोकप्रियताको मूल कारण कार्यक्रम मात्र थिएन, उनको मुहारमा झल्किने दयाभाव, बोलीमा प्रकट हुने मानवीयता र निर्णयमा देखिने संवेदनशीलता थियो,’ सामाजिक सञ्जालमा मनीष थापा लेख्छन्, ‘मानिसहरूले उनलाई संसारकै असल न्यायाधीशसमेत भन्थे।’
उनले भनेजस्तै विश्वप्रसिद्ध समाचार संस्था सिएनएनदेखि बिबिसीसम्मले पनि संसारकै असल न्यायाधीशको मृत्यु भनेर समाचार प्रकाशित गरेको छ। सामाजिक सञ्जालदेखि मूलधारका सञ्चारमाध्यमसम्म सबैतिर उनलाई ‘न्याय र करुणाको अद्वितीय संयोजन’ भएको व्यक्ति भन्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ।
उनका भिडियोहरू युट्युब, फेसबुक, इन्स्टाग्राममा करोडौं पटक हेरिए। नेपालमा पनि अससंख्य युवा र वृद्धहरूले उनले गरेका फैसला भिडियोमार्फत हेर्ने गरेका छन्। उनका दयालु र मानवीय निर्णयहरूका ती भिडियोहरू सामाजिक सञ्जालमा निकै भाइरल छन्। जहाँ उनले धेरै पटक गरिब परिवारहरूको ट्राफिक गल्तीको सजाय माफ गरे र सेना र तिनका परिवारलाई सम्मान गरे। वृद्ध व्यक्तिलाई हौसला दिए। आम मानिसहरूलाई प्रोत्साहित गरे। न्यायको कुर्सीमा एउटा हृदय भएको व्यक्तिका रूपमा सबैले देखे। न्याय गर्न चाहनेको दिल कठोर मात्र हुनुहुँदैन, त्यो घटना र परिवेशबाट द्रवीभूत पनि हुन सक्नुपर्छ भन्ने सन्देश उनले दिए।
सन २०२३ मा क्याप्रियोले आफूलाई पाचन प्रणालीको क्यान्सर भएको सार्वजनिक गरेका थिए। उपचारका क्रममा पनि उनी सामाजिक सञ्जालमार्फत जनतासँग सम्पर्कमा रहिरहे। उनको निधन भएपछि, रोड आइल्यान्ड राज्यले उनलाई सम्मान गर्दै झन्डा आधा झुकायो। ‘न्यायाधीश क्याप्रियो हाम्रो राज्यको गहना थिए,’ गभर्नर डान म्याकीले भने, ‘उनले देखाएको करुणा सधैं हाम्रो मनमा रहनेछ।’
उनको निधनसँगै उनीप्रति संसारभरबाट आएका प्रतिक्रियाले उनी अमेरिकी मात्र नभएर संसारकै प्रिय व्यक्ति भएको देखाउँछ। ‘उनी अमेरिकी हुन्,’ विनय राउत लेख्छन्, ‘तर उनको फैसला गर्ने तरिका उनको बोली र करुणाभाव नियाल्दा हामीलाई उनी आफ्नै जस्तो लाग्छ।’
क्याप्रियो हामीमाझ छैनन् तर उनले गरेको न्यायलाई देखेर हामीकहाँ एक जना मात्रै पनि यस्ता न्यायमूर्ति भविष्यमा देखा परेछन् भने त्यो नै यिनले हामीलाई पारेको प्रभाव हो भनेर बुझ्न सकिन्छ। त्यति भयो भने हाम्रा चर्चित कार्टुनिस्ट केसीले लेखेको सामाजिक सञ्जालको स्टाटसले पनि न्याय पाउनेछ।
प्रकाशित: ८ भाद्र २०८२ ०८:४१ आइतबार




