४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेलाई चुनावमा ल्याउन सकस परेको सञ्चारमन्त्रीको संकेत

‘चुनाव सार्ने हल्लामा सत्यता छैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा (एमाले) लाई निर्वाचनको प्रक्रियामा सहभागी गराउनु सरकारका लागि चुनौतीपूर्ण रहेको संकेत गरेका छन्।

मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीलाई सहमतिमा ल्याउन समय लागेको बताएका हुन्।

सुरुवाती चरणमा सरकारको वैधतामाथि नै प्रश्न उठाउँदै आएको एमालेलाई कसरी सहमतिमा ल्याउनुभयो ? भन्ने नागरिक दैनिका प्रधानसम्पादक गुणराज लुइँटेलको प्रश्नमा मन्त्री खरेलले भने, ‘हिजो असंवैधानिक सरकारले गराएको निर्वाचनमा सहभागी हुँदैनौँ बताउँदै आएको एमाले देखि साना–ठूला सबै दललाई अहिले निर्वाचनमा केन्द्रित गराउन सक्नु सरकारको सफलता हो।’

उनले सबै दललाई सहमतिमा ल्याएर सरकारले चुनावी वातावरण बनाएको दाबी गरे। ‘निर्वाचनका लागि सबै दललाई सहमतिमा ल्याउन सरकारले निकै मेहनत गरेको छ,’ उनले भने, ‘अहिले एमाले पनि निर्वाचनलाई नै लक्षित गरेर गतिविधिमा केन्द्रित भइसकेको छ।’

मन्त्री खरेलले चुनाव सार्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बजारमा चुनाव सर्न सक्ने भन्दै चलेका हल्लाहरूबारे प्रष्टीकरण दिँदै उनले सरकारको अर्जुनदृष्टि नै फागुन २१ गते भएको बताए।

‘सरकारको ध्यान नियमित कामबाहेक फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित छ,’ मन्त्री खरेलले भने, ‘मिति सर्ने वा निर्वाचन नहुने भन्ने कुरा अब असान्दर्भिक भइसक्यो। निर्वाचन तोकिएकै मितिमा हुन्छ।’

अन्तर्राष्ट्रिय समुदाय, छिमेकी मुलुकहरू भारत र चीनले समेत चुनावका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको भन्दै उनले निर्वाचनको मिति दायाँबायाँ नहुने जिकिर गरे।

प्रकाशित: २२ पुस २०८२ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App