इजरायलले इरानको राजधानी तेहरानसहित धेरै सहरमा हवाई आक्रमण गरेको छ। शनिबार दिउँसो तेहरान लगायतका सहरमा भीषण विस्फोटको आवाज सुनिएको छ भने हवाई हमलाको साइरन निरन्तर बजिरहेको छ।
इजरायली डिफेन्स फोर्सले इरानमाथि भएको यो आक्रमणलाई ‘प्रिभेन्टिभ अट्याक’ भनेको छ। हमलालगत्तै इरानले आफ्ना सबै उडान रोकेर हवाई क्षेत्र खाली गराएको छ। इजरायलमा पनि हवाई आक्रमणको साइरन सुनिएकाले संवेदनशील क्षेत्र खाली गराउँदै मानिसहरूलाई घरभित्रै बस्न अपिल गरिएको छ।
अल जजिराले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलबिचको संयुक्त सैन्य कारबाही भएको बताएको छ। यसै कारबाहीअन्तर्गत इरानका सर्वोच्च नेता अली खामेनीको कार्यालय नजिकै आक्रमण गरिएको थियो। आक्रमणपछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ।
इरान र अमेरिकाबिच आणविक हतियारका विषयमा वार्ता भइरहेका बेला यो आक्रमण भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए। अमेरिकी सेनाले इरानलाई चारैतिरबाट घेरिसकेको छ। यसअघि शुक्रबार नै अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इजरायल छाड्न आग्रह गरेको थियो।
आक्रमणअघि अमेरिकाले आणविक शक्तिबाट चल्ने आफ्नो सबैभन्दा ठूलो विमानवाहक युद्धपोत ‘युएसएस जेराल्ड आर फोर्ड’ इरान पठाएको थियो। यो विमान पनि यस आक्रमणमा संलग्न रहेको जानकारी प्राप्त भएको छ। त्यहाँ अब्राहम लिंकन क्यारियर र अन्य युद्धपोतहरू पहिलेदेखि नै तैनाथ छन्। पछिल्ला हप्ताहरूमा धेरै गाइडेड मिसाइल विध्वंसक, लडाकु विमान र निगरानी विमानहरू पनि मध्यपूर्वमा पठाइएका छन्।
यसैबिच, इरानले यो युद्ध इजरायल र अमेरिकाले सुरु गरेको भन्दै आफूले यसलाई अन्त्य गर्ने धम्की दिएको छ। इरानले भनेको छ, ‘हामी शत्रुहरूलाई कुल्चनेछौँ।’ एजेन्सी
प्रकाशित: १६ फाल्गुन २०८२ १३:३० शनिबार





