२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविरामको घोषणासँगै इरानी जनताले सडकमै उत्सव मनाए

दुई हप्ताको युद्धविरामको घोषणासँगै इरानीहरूले तेहरानको सडकमा उत्रिएर उत्सव मनाएका छन्। इरानविरुद्धको सैन्य हमला रोकिएको एक अमेरिकी अधिकारीले बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। 

अमेरिकाले युद्धविराम घोषणा गरेपछि कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायतका खाडी देशले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेका छन्। कुवेतको सेनाले क्षेप्यास्त्र र ड्रोन आक्रमण रोकिरहेको बताएको छ भने बहराइनले साइरन बजाएर जनतालाई सुरक्षित रहन आग्रह गरेको छ। साउदी र कतारले पनि सुरक्षा सतर्कता उच्च पारेका छन्।

यसअघि होर्मुजको जलमार्ग नखुलेसम्म इरानी आक्रमण जारी रहने अपेक्षा गरिएको थियो। इरानका विदेशमन्त्री अब्बास अराघाचीले अमेरिका र इजरायलले आक्रमण बन्द गरे आफ्नो सेनाले पनि खाडी क्षेत्रमा आक्रमण रोक्ने र जलमार्गबाट दुई हप्ताका लागि सुरक्षित पारवहन दिने बताएका थिए।

ह्वाइट हाउसका अधिकारीलाई उदृधत गर्दै रोयटर्सले इजरायल पनि यो युद्धविराममा सामेल भएको बताएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेको एक घण्टापछि इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको र त्यसलाई रोक्ने काम भइरहेको बताएको छ। इजरायलले पनि इरानमाथि हमला जारी राखेको बताएको छ। 

ट्रम्पले इरानलाई जलमार्ग खोल्न दिएको समयसीमा सकिनु केही समयअघि मात्र यो सहमति भएको हो। यसअघि उनले ‘सम्पूर्ण सभ्यता मर्नेछ’ भन्ने धम्की दिएका थिए। 

इरानका अनुसार दुई देशबीच शुक्रबार पाकिस्तानको इस्लामाबादमा वार्ता सुरु हुनेछ। ट्रम्पले इरानले १० बुँदे प्रस्ताव पेस गरेको र दुई हप्ताभित्र अन्तिम सम्झौता हुने अपेक्षा गरेका छन्। 

इरानी सरकारी टेलिभिजनले यसलाई ट्रम्पको ‘अपमानजनक पछि हट्ने’ कदम भनेको छ। ह्वाइट हाउसले ट्रम्पकै दबाबका कारण इरान जलमार्ग खोल्न तयार भएको दाबी गरेको छ। 

यो घोषणापछि अमेरिकी शेयर बजार बढेको छ भने कच्चा तेलको मूल्य १७ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर पुगेको छ। एजेन्सी 

प्रकाशित: २५ चैत्र २०८२ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App