केही साताको छोटो अवधिमै हर्मुज जलडमरु हुँदै हुने जहाज आवागमनको अवरोधले इरानसँगको अमेरिका–इजरायल युद्धको वास्तविक स्वरूप उजागर भएको छ। यो कुनै क्षेत्रीय द्वन्द्व होइन, किनकि यसको बिल सम्पूर्ण विश्वलाई थमाइँदै छ। त्यो बिल कति ठुलो हुनेछ भन्ने अझै निर्धारण हुन बाँकी छ, तर यो पहिले नै स्पष्ट छ कि यसको मूल्य चुकाउनेमा युद्धरत पक्षहरू मात्र हुने छैनन्।
युद्धलाई सामान्यतया राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता, मानवतावाद अथवा सभ्यतागत संघर्षका सन्दर्भमा प्रस्तुत गरिन्छ। यस्ता तर्कले एउटा असहज सत्यलाई ओझेलमा पार्छन्– युद्ध मानव गतिविधिमा सबैभन्दा गलत मूल्यांकन गरिएको गतिविधिमध्ये एक हो। यसलाई सुरु गर्नेले प्रायः यसको पूरा लागत वहन गर्दैनन्, किनकि ती लागतहरू सिमाना, बजार र समयभरि सारिन्छन्। भौतिक विनाशभन्दा पर युद्धले विशाल नकारात्मक बाह्य प्रभावहरू उत्पन्न गर्छ। आक्रमणकारीले चुकाउने मूल्य सामाजिक लागतको सानो अंश मात्र हुन्छ।
निस्सन्देह युद्धले अरूमाथि लागत थोपर्छ भन्ने बोध राजनीतिक अर्थशास्त्रको साहित्यमा गहिरोसँग अन्तर्निहित छ, जसलाई अर्थशास्त्री आदम स्मिथ र डेभिड रिकार्डोदेखि जोन मेनार्ड केन्स र कार्ल पोलान्यीसम्मले चर्चा गरेका छन्। तर विश्वव्यापीकरणले यस प्रभावलाई आधुनिक अर्थतन्त्रको संरचनात्मक विशेषतामा नै रूपान्तरण गरिदिएको छ।
हालको इरान द्वन्द्वको अंकगणितलाई विचार गरौं। मानवीय क्षतिभन्दा पर, प्रत्यक्ष अमेरिकी सैन्य खर्च दशौं अर्ब वा यहाँसम्म कि सयौं अर्ब डलरसम्म पुग्न सक्छ (युद्ध सुरु भएको एक हप्तामै यसको लागत १२.७ अर्ब डलर पुगिसकेको थियो)। तर यसको व्यापक आर्थिक लागत ऊर्जा, खाद्य र वित्तीय बजारमार्फत प्रसारित हुने क्षतिभन्दा धेरै माथि जान्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दिएको छ कि यो युद्धले पहिले नै धेरै अर्थतन्त्रहरूको वृद्धिको सम्भावनालाई कमजोर बनाइरहेको छ, किनकि ऊर्जाका झट्काहरू विश्वव्यापी रूपमा फैलिरहेका छन् र मुद्रास्फीतिजन्य दबाब तीव्र बन्दै छ।
यस प्रकारको प्रसारण संयन्त्र क्रूर हिसाबमा सरल छ। जब तेल र ग्यासको मूल्य बढ्छ, यातायात र बिजुली महँगो हुन्छ। जब मलको लागत बढ्छ, खाद्यान्नको मूल्य पनि बढ्छ। केन्द्रीय बैंकहरूले यसको प्रतिक्रिया स्वरूप अझ कडा मौद्रिक नीति अपनाउन सक्छन्। अन्ततः, आर्थिक वृद्धि सुस्त हुन्छ।
तर यो विस्तारित ‘डोमिनो इफेक्ट’ वास्तविक युद्धको हिसाब–किताबमा समावेश गरिँदैन। युद्धको वास्तविक लागत नाप्ने प्रयासहरूले बारम्बार देखाएका छन् कि यी प्रभावहरू युद्धभूमिभन्दा बाहिर पर्छन्। इराक युद्धसम्बन्धी आफ्नो काममा, जोसेफ ई स्टिग्लिट्ज र लिन्डा बिल्मेसले समष्टिगत आर्थिक प्रभावहरू समावेश गरेपछि खर्बौं डलरको लागतको सूची तयार पारेका थिए। त्यसैगरी आइएमएफ र विश्व बैंक दुवैले हिंसात्मक द्वन्द्वले त्यसबाट निकै टाढाका अर्थतन्त्रहरूमा समेत वृद्धिलाई दबाउने पत्ता लगाएका छन्।
संयमित अनुमानका अनुसार पनि संयुक्त राज्य अमेरिकाले कुल विश्वव्यापी आर्थिक क्षतिको सानो अंश मात्र वहन गर्न सक्छ (जस्तै, युक्रेन युद्धका नकारात्मक प्रभावहरू रुसलाई प्रत्यक्ष लागेको लागतभन्दा धेरै माथि छन्)। युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लगार्डले हालै चेतावनी दिएझैं बाँकी लागत समग्र प्रणालीभरि फैलिन्छ, ऊर्जा आयातकर्ताहरू, उदीयमान बजारहरू र विश्वभरिका घरपरिवारहरूले प्रभाव बेहोर्छन्। यस अर्थमा, युद्ध विश्वव्यापी रूपमा अनुदानित छ।
तीनवटा संयन्त्रले यसलाई सम्भव बनाउँछन्। पहिलो, यो स्थानगत हो। आधुनिक अर्थतन्त्रहरू गहिरोसँग अन्तरसम्बद्ध छन्। जब युद्धले कुनै एक नोडलाई अवरुद्ध गर्छ (विशेषतः ऊर्जा आवागमनको संवेदनशील घाँटीलाई), त्यसका प्रभावहरू बाहिरतिर लहरझैं फैलिन्छन्। हर्मुज जलडमरुमध्ये केवल भौगोलिक मार्ग मात्र होइन, विश्व अर्थतन्त्रको संरचनात्मक कमजोरी पनि हो।
दोस्रो संयन्त्र समयगत हो। युद्धका लागि सामान्यतया वर्तमानले भविष्यबाट ऋण लिनुपर्छ। सरकारहरूले ऋणमार्फत युद्धको वित्तपोषण गर्छन् र यसको लागत अझै राजनीतिक रूपमा प्रतिनिधित्व नै नभएका भावी पुस्तामाथि सार्छन्। विगतका युद्धहरूको राजकोषीय परिणाम दशकौंपछि पनि देखिइरहेका छन्– सार्वजनिक ऋण, सीमित नीतिगत विकल्प र त्यस्ता दायित्वका रूपमा, जुन युद्धलाई जन्म दिने राजनीतिभन्दा लामो समयसम्म टिक्छन्।
तेस्रो संयन्त्र वितरणगत हो। युद्धले निर्णय–निर्माणलाई केन्द्रित गर्छ तर लागतलाई छरितो रूपमा फैलाउँछ। निर्णय गर्नेहरू नै यसको मूल्य चुकाउनेमा पर्दैनन्। आधुनिक द्वन्द्व अर्थशास्त्रको केन्द्रमा यही बोध रहेको छ। अक्सफोर्ड विश्वविद्यालयका अर्थशास्त्री पाउल कोलियरले देखाएका छन् कि युद्धहरू सामूहिक रूपमा तर्कसंगत भएकाले होइन, निजी रूपमा फाइदाजनक भएकाले जारी रहन्छन्। साना समूहहरूले लाभ कब्जा गर्छन्, जबकि व्यापक जनसंख्याले घाटा बेहोर्छ। आजको सञ्जालमा आधारित अर्थतन्त्रले यो असमानतालाई अझ बढाइदिएको छ।
सेन्टर अन ग्लोबल इनर्जी पोलिसीका एडवर्ड फिसम्यानले आफ्नो पुस्तक ‘चोकप्वाइन्ट्स’मा तर्क गरेझैं विश्वको शक्ति अहिले ऊर्जा मार्गहरू, वित्तीय सञ्जालहरू र आपूर्ति शृंखलाजस्ता विश्वव्यापी प्रणालीहरूमार्फत प्रवाहित हुन्छ। तर द्वन्द्वले यिनैलाई आर्थिक संक्रमणका मार्गमा रूपान्तरण गर्छ। परिणामस्वरूप एउटा अनौठो अवस्था उत्पन्न हुन्छ। यसरी सिद्धान्तमा युद्ध महँगो देखिन्छ तर व्यवहारमा किफायतीजस्तो लाग्छ, किनकि यसको ठुलो हिस्सा अरूले तिर्छन्।
यो गलत मूल्यांकनका अनुमानयोग्य परिणामहरू छन्। जब वस्तुहरूलाई अनुदानमा दिइन्छ, हामी तिनको बढी उपभोग गर्छौं। जब तिनको मूल्य धेरै कम हुन्छ, अत्यधिक आपूर्ति हुन्छ। त्यसले अत्यधिक प्रदूषण, अत्यधिक जोखिम र अत्यधिक युद्ध निम्त्याउँछ।
त्यसैले अबका लागि नीतिगत चुनौती स्पष्ट छन्। युद्धलाई निरुत्साहित गर्न, यसको लागतलाई आन्तरिक बनाउनुपर्छ। द्वन्द्व सुरु गर्नेहरूले यसको वास्तविक लागतको ठुलो हिस्सा (अझ सम्पूर्ण) वहन गर्नुपर्छ। यस्तो परिणाम सुनिश्चित गर्नका लागि प्रभावकारी विश्वव्यापी संस्था आवश्यक छ, जसले द्वन्द्वका निजी र सामाजिक लागतलाई विश्व बजारहरूले गर्न सक्नेभन्दा बढी प्रभावकारी रूपमा समायोजन गर्न सकोस्। संसारले यस्तो संस्था खडा गर्न नसकेसम्म, युद्ध जस्तो सबैभन्दा विनाशकारी गतिविधिहरूमध्ये एकमा संलग्न हुने पक्षका लागि यो सस्तो हुनेछ।
–हल्दार क्याम्ब्रिज विश्वविद्यालयकी सहप्राध्यापक हुन्।
(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: २५ चैत्र २०८२ ०६:५४ बुधबार

