इरान र अमेरिका तत्काल युद्धविराम गर्न सहमत भएपछि विश्व बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको छ। सेयर बजार पनि उकालो लागेको छ।
अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको छ। ट्रम्पले इरानले दुई हप्ताको युद्धविराम र हर्मुज जलमार्ग पुनः खोल्न सहमत भएमा आक्रमण रोक्ने बताएका थिए। इरानले पनि उक्त प्रस्ताव स्वीकार गर्दै जलमार्गबाट आउजाउ खुला गर्ने बताएको छ।
बजारमा अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल ९६.२७ डलर र ब्रेन्ट कच्चा तेल ९३.४८ डलरमा झरेको छ। एसियाली बजारमा पनि जापानको निक्केई र दक्षिण कोरियाको कोस्पीमा उछाल देखिएको छ। यसअघि ट्रम्पले ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ, फेरि कहिल्यै फिर्ता ल्याइने छैन’ भन्दै धम्की दिएपछि बजारमा अनिश्चितता छाएको थियो। तर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ट्रम्पलाई समयसीमा बढाउन र इरानलाई जलमार्ग खोल्न आग्रह गरेपछि बजारमा सकारात्मक सुधार देखिएको हो।
युद्धविरामको खबरले ऋणको ब्याजदर निर्धारण गर्ने ट्रेजरी प्रतिफलमा पनि केही गिरावट आएको छ। लामो समयसम्म द्वन्द्व कायम रहेमा विश्वव्यापी अर्थतन्त्रमा मुद्रास्फीतिको चाप बढ्ने चिन्ता कायमै रहे पनि हालको सहमतिको संकेतले लगानीकर्ताहरूलाई केही राहत दिएको छ। एजेन्सी
प्रकाशित: २५ चैत्र २०८२ ०७:०५ बुधबार





