इरानी राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तानको दुई दिने भ्रमणका लागि इस्लामाबाद आएका छन्। प्रधानमन्त्री शेहबाज शरीफ, विदेशमन्त्री इशाक दारसहित अन्य उच्च अधिकारीले नूर खान एयर बेसमा उनको स्वागत गरेका थिए। पाकिस्तानमा उनलाई २१ तोपको सलामी पनि दिइयो।
पेजेश्कियानसँगै विदेशमन्त्री अब्बास अराघची र उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल आएको छ। लाहोरमा अल्लामा इकबालको समाधिस्थलको भ्रमण गरेर उनी इस्लामाबाद पुगेका हुन्। लाहोरमा पीएमएल–एनका अध्यक्ष नवाज शरीफ र पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले उनलाई स्वागत गरेका थिए।
यो भ्रमण प्रधानमन्त्री शरीफको निमन्त्रणामा भएको हो। पेजेश्कियानले राष्ट्रपति जरदारी, सिनेट अध्यक्ष, सभामुखसँग भेट्ने कार्यक्रम रहेको पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रधानमन्त्री शरीफसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यो भ्रमणले दुई देशबिचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखिएको छ।
‘यो पेजेश्कियानको पाकिस्तानको पहिलो आधिकारिक भ्रमण हो। यो भ्रमणले पाकिस्तान र इरानबिचको भाइचारा सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ,’ विदेश मन्त्रालयले भनेको छ। यसअघि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले तेहरान भ्रमण गरेर पेजेश्कियानलाई भेटेर शरीफको शुभकामना सन्देश दिएका थिए।
प्रकाशित: १७ श्रावण २०८२ २१:१२ शनिबार





