सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको हो।
बिहीबार लघुवित्तपीडितसँग छलफल गर्न मन्त्रीस्तरीय निर्णय भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेका स्वकीय उपसचिव नवीन ढुङ्गानाले दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको जानकारी दिए।
समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्।
लघुवित्त तथा वित्तीय शोषण पीडितहरू गत साता विभिन्न माग राखेर काठमाडौं आएका थिए।
पीडितले वित्तीय शोषण अन्त्य, किसानलाई सस्तो ब्याजदरमा ऋण प्रदान, किसानमाथिको दलालीकरण अन्त्य, अपराधसम्बन्धी ऐन खारेजलगायतका माग राखेका छन्।
प्रकाशित: १५ श्रावण २०८३ १८:३८ शुक्रबार



-600x400.jpg)

