१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी विदेशमन्त्री भन्छन्- मलाई जानकारी भएसम्म सर्वोच्च नेता अली खमेनी जीवितै छन्

अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेसँगै मध्यपूर्वमा युद्ध भड्किएको छ।

आक्रमणको जवाफमा इरानले पनि इजरायल र खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडाहरूमा दर्जनौं ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।

इरानमा इन्टरनेट सेवा लगभग पूर्ण रूपमा बन्द गरिएको र व्यापक साइबर आक्रमण भइरहेको अवस्थामा इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी टेलिभिजन एनबीसी न्युजसँग कुरा गर्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनी आफूलाई जानकारी भएसम्म जीवितै रहेको बताएका छन्।

विदेशमन्त्री अराघचीले इरानका एक दुई जना कमाण्डर मारिएको हुन सक्ने स्वीकार गरे पनि राष्ट्रपति र सेनाका कमाण्डर–इन–चिफ मारिएको भन्ने हल्लालाई भने अस्वीकार गरेका छन्।

उनले अमेरिका र इजरायलले आक्रमण रोकेमा इरान तनाव कम गर्न र वार्ताका लागि तयार रहेको बताए। हाल कुनै सीधा सम्पर्क नभए पनि अमेरिकाले चाहेमा आफूलाई कसरी सम्पर्क गर्ने भन्ने उसलाई थाहा भएको उनको भनाइ छ। खाडी क्षेत्रका अमेरिकी आधार शिविरहरूमा भइरहेको इरानी आक्रमणलाई भने उनले आत्मरक्षाको कदम भनेका छन्।

इजरायली सेनाले तेहरानमा शीर्ष राजनीतिक र सुरक्षा अधिकारीहरू भेला भएको स्थानलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। विवरणहरूका अनुसार सर्वोच्च नेता र राष्ट्रपतिको कार्यालयमा समेत आक्रमण भएको बुझिएको छ। तेहरानको आवासीय क्षेत्रमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार एउटा छात्रा विद्यालयमा भएको तीनवटा मिसाइल आक्रमणमा परी ५३ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता अली फरहादीले भग्नावशेषमा अन्य सम्भावित पीडितहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। यसैबीच, इरानी अधिकारीहरूले तेहरानका बासिन्दाहरूलाई मोबाइलमा सन्देश पठाएर शान्त रहन र सम्भव भएसम्म राजधानी छाडेर सुरक्षित सहरतर्फ जान आग्रह गरेका छन्।

इरानले इजरायलतर्फ निरन्तर मिसाइल प्रहार गरिरहेको छ भने इजरायलमा साइरन बज्ने क्रम जारी छ। इजरायलको डिफेन्स सिस्टमले मिसाइलहरूलाई आकाशमै नष्ट गर्ने प्रयास गरिरहेको छ।

त्यसैगरी कतार, युएई, कुवेत, बहराइन र जोर्डनले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य बेसमा इरानले प्रहार गरेका मिसाइलहरूलाई इन्टरसेप्ट (आकाशमै नष्ट) गरिरहेको जनाएका छन्।

यसै क्रममा युएईमा मिसाइलको भग्नावशेष खस्दा एक सर्वसाधारणको मृत्यु भएको छ। उता, कुवेतको नागरिक उड्डयन प्राधिकरणले कुवेत विमानस्थलमा भएको ड्रोन आक्रमणमा केही मानिस सामान्य घाइते भएको जनाएको छ।

बढ्दो तनाव र युद्धको अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले शनिबार आपतकालीन बैठक बोलाएको छ। फ्रान्स र बहराइनको आग्रहमा बस्न लागेको उक्त बैठकमा मध्यपूर्वको वर्तमान अवस्थाबारे छलफल हुनेछ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जर्मन चान्सलर फ्रेडरिक मर्जसँग टेलिफोन वार्ता गरेका छन्। विश्वका अन्य नेताहरूले कूटनीतिक समाधानमा फर्किन आह्वान गरेका छन्।

बेलायती सरकारका प्रवक्ताले बेलायत यो युद्ध थप चर्किएर फराकिलो क्षेत्रीय द्वन्द्वमा परिणत भएको हेर्न नचाहने बताएका छन्।

प्रकाशित: १६ फाल्गुन २०८२ २१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App