अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले बताएका छन्।
‘इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अब्बास अराघचीले सोमबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने।
चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’
चीनले इरानको सार्वभौमसत्ता रक्षामा समर्थन जनाएको छ भने अमेरिका र इजरायललाई सैन्य कारबाही रोक्न आग्रह गरेको छ। वाङ यीले अराघचीलाई भनेका छन्, ‘चीनले इरानको सार्वभौमसत्ता, सुरक्षा, क्षेत्रीय अखण्डता र राष्ट्रिय गरिमा रक्षामा समर्थन गर्छ र वैध हित संरक्षणमा सहयोग गर्दछ।’ उनले अमेरिका र इजरायललाई तत्काल सैन्य अभियान रोक्न र मध्यपूर्वमा द्वन्द्व फैलिन रोक्न आग्रह गरेका छन्।
इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएका थिए। प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ।
इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पष्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ। एजेन्सी
प्रकाशित: १९ फाल्गुन २०८२ ०७:१६ मंगलबार





