अमेरिका र इजरायलले शनिबार दक्षिणी इरानमा गरेको हवाई आक्रमणमा पाँच छात्राको मृत्यु भएको छ। होर्मोज्गान प्रान्तको मिनाबस्थित रिभोलुसनरी गार्डको बेस रहेको क्षेत्रलाई लक्षित गरी गरिएको सो आक्रमणमा एक बालिका पढ्ने विद्यालय परेको इरानी समाचार एजेन्सी आइआरएनएले जनाएको छ।
यस्तै, इरानले गरेको प्रत्याक्रमणमा संयुक्त अरब इमिरेट्स (युएई) को राजधानीमा एक जनाको मृत्यु भएको छ भने इजरायलमा एक जना घाइते भएका छन्। यससँगै दुवैतर्फ गरी मृतकको संख्या ६ पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अमेरिकाले इरानमा ‘बृहत् युद्धकारबाही’ सुरु गरेको बताएका छन्। उनले भनेका छन्, ‘अमेरिकाले इरानमा ठूलो युद्ध अभियान सुरु गरेको छ। यो कदमको उद्देश्य अमेरिका र उसका जनतालाई खतराबाट जोगाउनु हो।’
ट्रम्पले इरानले परमाणु कार्यक्रम र अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र विकास गरिरहेकाले त्यसलाई रोक्न बल प्रयोग गरेको दाबी गरे।
इजरायलले ‘लियोन्सर’ नाम दिएको यस सैन्य अभियानअन्तर्गत तेहरानसहितका सहरमा रहेका गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय र सर्वोच्च नेता खामेनीको कार्यालयलाई निशाना बनाएको छ।
इरानले पनि जवाफी कारबाहीमा करिब ४०० क्षेप्यास्त्र प्रहार गर्दै युएई, कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ। इरानले ओमानलाई छोडेर खाडी क्षेत्रमा सबै देशमा आक्रमण गरेको बताइएको छ। ओमान पटकपटक इरान र अमेरिकाबिच भएको असफल आणविक वार्तामा मध्यस्थकर्ताका रुपमा रहेको थियो।
आक्रमणपछि इरानका सर्वोच्च नेता अली खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ। इरानी सरकारी मिडियाले राष्ट्रपति मसुद पेजेस्कियन सुरक्षित रहेको जनाएका छन्। एजेन्सी
प्रकाशित: १६ फाल्गुन २०८२ १६:५६ शनिबार





