२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्धमा ५ लडाकु विमान खसालिए : ट्रम्पको विवादास्पद दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको सन् २०२५ को सैन्य तनाव र युद्धविरामबारे पुन: विवादास्पद दाबी गरेका छन्।

भारतको अपरेशन सिन्दूर, जुन अप्रिल २२, २०२५ मा भारतीय प्रशासित कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको जवाफमा सुरु भएको थियो। ट्रम्पले बारम्बार युद्धविरामको श्रय लिइरहेका छन्। उनले आफ्नो मध्यस्थता र व्यापार सम्झौताको प्रस्तावले युद्धविराम सम्भव भएको दाबी गरेका छन्।

हालै, ट्रम्पले फेरि एक पटक भारत र पाकिस्तानबिचको तनाव रोकेको दाबी गरेका छन्। ट्रम्पले भने, ‘हामीले धेरै युद्धहरू रोकेका छौं, ती धेरै गम्भीर युद्धहरू थिए। भारत र पाकिस्तान यसको उदाहरण हुन्। दुवै देशको सिमानामा लडाकु विमानहरूलाई निशाना बनाइएको थियो। मलाई लाग्छ कम्तिमा ५ वटा लडाकुविमान खसालिएका थिए। दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका थिए। यस्तो लाग्थ्यो कि आणविक युद्ध सुरु हुनेछ। हामीले इरानमा के गर्यौं भनेर सारा संसारले देख्यो। हामीले आणविक आधारहरू ध्वस्त पार्यौं।’

पाकिस्तानले दाबी गरे अनुसार कम्तिमा पाँच भारतीय लडाकु विमान खसालिएका थिए। तर अमेरिकी स्रोत र अन्य विश्लेषणले कम्तिमा दुई विमान (राफेल र मिराज २०००) खसालिएको दाबी गर्छ। विमान गुमाएको कुरा स्वीकार गरेको भारतले संख्याबारे बोलेको छैन। 

ट्रम्पले थपे, ‘भारत र पाकिस्तानबिच पनि तनाव बढ्दै थियो। यद्यपि, दुवै देशले बुद्धिमत्ता देखाउँदै युद्धविराममा सहमति जनाए र हामीले व्यापार सम्झौताको सहयोगमा यो सबै सम्भव बनायो। हामीले भन्यौं के तपाईं व्यापार सम्झौता गर्न चाहनुहुन्छ? यदि तपाईंले आक्रमण रोक्नु भएन भने हामी व्यापार सम्झौता गर्दैनौं।’ 

यद्यपि, भारतले यस्ता कुनै व्यापार सम्झौता वा अमेरिकी मध्यस्थताको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको छ। भारतको विदेश मन्त्रालय र सेनाले युद्धविराम दुई देशका सैन्य संचालक महानिर्देशकहरूबिचको प्रत्यक्ष वार्ताबाट भएको बताउने गरेको छ। भारतले कुनै तेस्रो पक्षको भूमिका नभएको स्पष्ट पारेको छ। पाकिस्तानले भने अमेरिकाको सहजीकरणको प्रशंसा गरेको छ। भारतले अमेरिकामार्फत युद्धविरामको अनुरोध गरेको दाबी गरेको छ। भारतले यस्तो दाबीलाई खण्डन गर्दै युद्धविराम पाकिस्तानको अनुरोधमा भएको र यो पूर्ण रूपमा द्विपक्षीय भएको बताएको छ। एजेन्सी

प्रकाशित: ३ श्रावण २०८२ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App