२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेल भित्रैबाट सत्ता हाँकिरहेका इमरान

पाकिस्तानको राजनीतिक इतिहासमा सेनाको हस्तक्षेप र नागरिक नेतृत्वबिचको द्वन्द्व नयाँ होइन। तर पूर्व प्रधानमन्त्री इमरान खानको उदयले यो द्वन्द्वलाई नयाँ उचाइ दिएको छ।

क्रिकेट सुपरस्टारबाट सन् २०१८ मा राजनीतिक क्रान्तिकारी बनेका खानले ‘नयाँ पाकिस्तान’ को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता गरेका थिए। सत्तामा पुगेपछि उनले पाकिस्तानको राजनीति परिवर्तन गरे। तर २०२२ मा उनको सरकार ढलेपछि सुरु भएको उतारचढावले मुलुकलाई संकटमा धकेलेको छ। 

सन् २०२५ अक्टोबरमा दुई वर्षभन्दा बढी समयदेखि अदियाला जेलमा बन्द खानको प्रभाव घटेको छैन। जेलको चार दिवार भित्रबाट उनले पार्टीको नेतृत्व, सरकारी नीति र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज जीवन्त राखेका छन्। 

क्रिकेटबाट सत्तासम्मको यात्रा  

इमरान खानको राजनीतिक यात्रा सामान्य होइन। पाकिस्तानलाई १९९२ को विश्वकप जिताएर उनी राष्ट्रिय नायक बने। पछि उनले स्वर्गीय माता शौकत खानको नाममा क्यान्सर अस्पताल खोले। यसलाई स्वास्थ्य क्षेत्रमा नयाँ आयाम मानियो। दाताको सहयोगमा चल्दै आएको अस्पतालमा गरिबले क्यान्सरजस्तो घातक रोग उपचार गर्दा निःशुल्क वा कम मूल्यमा उपचार पाउँछन्।

उनले तीन विवाह गरेका छन्। पहिलो पत्नी जेमिमा गोल्डस्मिथसँग १९९५ मा विवाह गरे, जसबाट दुई छोरा, सुलेमान र कासिम छन्। उनीहरू बेलायतमा छन्। दोस्रो विवाह रेहम खानसँग २०१५ मा भयो, तर यो छोटो समयमै टुट्यो। तेस्रो विवाह २०१८ मा बुसरा बिबीसँग भयो, जो उनको आध्यात्मिक गुरु मानिन्छिन्। तेस्रो विवाहमा इद्दतको समय पूरा नगरेको आरोपमा मुद्दा लाग्यो। १९५२ पाकिस्तानमा जन्मिएका खानले लामो समय बेलायतमा बिताए। अध्ययन र खेलका लागि उनले पाकिस्तानबाहिर रहनु परेको थियो।

२०१८ को निर्वाचनमा खानको पार्टी पिटिआइले ११६ सिट जित्यो। खान गठबन्धनसहित प्रधानमन्त्री बने। यो जितमा सेनाको भूमिका थियो भन्ने आरोप छ। जानकारहरू भन्छन्, ‘सेनाले भुट्टो र सरिफ परिवारको वर्चस्व तोड्न खानलाई समर्थन गर्याे।’ उनको सरकारले गरिबी निवारण, युवा सशक्तीकरण र ‘बिलियन ट्री सुनामी’ जस्ता कार्यक्रमलाई प्राथमिकता दियो। तर आर्थिक संकट, मुद्रास्फीति र कोभिडको प्रभावले उनको छवि कमजोर बन्यो। कोभिडमा उनको ‘स्मार्ट लकडाउन’ विश्वभर उदाहरण बन्यो। तटस्थ विदेश नीतिले पाकिस्तानको अन्तर्राष्ट्रिय स्थान मजबुत बनायो। तर चीन र रुससँगको निकटताले अमेरिकालाई चित्त बुझेन। एक अन्तरवार्तामा ‘के पाकिस्तान अमेरिकालाई सैन्य अड्डा दिन तयार छ?’ भन्ने प्रश्नमा उनले ‘एब्सुलटली नट’ भने, जुन भाइरल भयो। पाकिस्तानमा सेना र सरकार अमेरिकासँग ‘यस म्यान’ नीतिमा हिँड्छन्। सेनाका शीर्ष अधिकारीका परिवार अमेरिका र युरोपमा बस्ने भएकाले पनि पश्चिमतर्फ झुकाव देखिन्छ।  

सुरुमा सेनासँग सम्बन्ध राम्रो थियो। २०२१ मा गुप्तचर निकाय आइएसआई प्रमुखको नियुक्ति र विदेश नीतिमा विवाद हुँदा फाटो आयो। खानले लेफ्टिनेन्ट जनरल फैज हमीदलाई बढुवा दिन चाहन्थे, तर सेनाले अस्वीकार गर्‍यो। यसले खान र तत्कालीन सेना प्रमुख कमर जावेद बाजवासँगको सम्बन्ध बिगार्‍यो। यो तनाव वर्तमान सेना प्रमुख असीम मुनीरसम्म कायम छ।  

२०२२ को सत्ता परिवर्तन  

२०२२ अप्रिल १० मा अविश्वास प्रस्तावबाट खानको सरकार ढल्यो। यो पाकिस्तानी राजनीतिको नाटकीय मोड थियो। 

खानले यसलाई ‘विदेशी षड्यन्त्र’ अर्थात् ‘अमेरिकी साजिस’ भने, जो बाइडेन सरकारका अधिकारी डोनाल्ड लुको धम्कीपूर्ण सन्देशलाई आधार बनाएर यस्तो दाबी गरेका हुन्। तर अमेरिकाले आफ्नो भूमिका स्वीकार गरेन। खानको मस्को भ्रमणको बेला नै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनविरुद्ध युद्ध सुरु गरेका थिए। अमेरिकाले पाकिस्तानलाई आफ्नो क्याम्प छोड्नबाट रोक्न यो कदम चालेको हो। खान युक्रेन युद्धमा रुसको आलोचना गर्नुभन्दा वार्ताबाट समाधानको पक्षमा थिए। तर सेना प्रमुख बाजवाले सरकारी नीतिविरुद्ध रुसको आलोचना गरे। खान भन्छन्, ‘युद्धबाट कुनै समाधान निस्कँदैन, वार्ताले सबै समस्याको हल हुन्छ।’  

२०१९ मा भारतसँग तनाव भयो। पुलवामामा भारतीय सैनिकमाथि आक्रमणपछि दिल्लीले बालाकोटमा विद्रोही समूहको शिविरमा कारबाही गरेको दाबी गर्‍यो। जवाफमा पाकिस्तानको कारबाहीले भारतीय पाइलट अभिनन्दन पक्राउ परे। खानले शान्तिका लागि उनलाई केही दिनमै रिहा गरेका थिए। अविश्वास प्रस्तावमा खानको पार्टीका दर्जन सांसद र गठबन्धन साझेदारहरू एमक्यूएम र बलोचिस्तान अवामी पार्टीले धोका दिए। एमक्यूएम शहबाज सरिफको पक्षमा लाग्यो। खानले यसलाई ‘सेनाको हस्तक्षेप’ भने। तर सेनाले तटस्थता कायम राखेको दाबी गर्‍यो। खानको पतनपछि शहबाज सरिफ पीपीपीको समर्थनमा प्रधानमन्त्री बने। सेनाले पर्दापछाडि सरकार बनाएको चर्चा भयो।  

खानको बहिर्गमनपछि अस्थिरता बढ्यो। पिटिआई समर्थकहरूले ‘विदेशी इसारामा बनेको सरकार’ भन्दै विरोध गरे। ट्विटर (हाल एक्स) मा ‘इम्पोर्टेड हुकुमत ना मन्जूर’ ह्यासट्याग लोकप्रिय भयो। खानले ‘हकीकी आजादी’ आन्दोलन चलाए, जसमा लाखौँ समर्थक सडकमा उत्रिए। उनीमाथि भ्रष्टाचारदेखि राष्ट्रिय गोप्यता उल्लंघनसम्मका दुई सय मुद्दा दर्ता भए। २०२३ मे ९ मा उनको गिरफ्तारीपछि पिटिआई समर्थकहरूले सेना मुख्यालय र सरकारी भवनमा आक्रमण गरे, जसलाई ‘मे ९ दंगा’ भनियो। यसलाई आधार बनाएर पिटिआईमाथि कारबाही भयो। सयौँ नेता–कार्यकर्तालाई जेल र सैन्य अदालतबाट सजाय दिइयो, जसको आलोचना भयो। केही नेताले पार्टी छोडे, कतिपयले छुट्टै दल खोले।

तर २०२४ फेब्रुअरी निर्वाचनमा निर्वाचन आयोगले पिटिआईको ‘ब्याट’ चिन्ह खोसेपछि उम्मेदवारहरू स्वतन्त्र चिन्हबाट लडे। तैपनि, पिटिआईले ९३ सिट जित्यो, जुन संसदमा सबैभन्दा धेरै थियो। धाँधलीको आरोपबिच शहबाज सरिफ पुनः प्रधानमन्त्री बने। यो निर्वाचनले खानको लोकप्रियता प्रमाणित गर्‍यो। खानको पतनमा उनका पूर्वसहयोगीको ठुलो भूमिका थियो। खानलाई छोड्नेहरूमा जनताबाट जित्ने कम र मनोनीत हुने धेरै थिए। खानबिना चुनावमा गएकाहरूको नतिजा कमजोर रह्यो, धेरैको राजनीतिक यात्रा समाप्त भयो।  

जेलको चार दिवार भित्रबाट प्रभाव  

अदियाला जेलमा दुई वर्षभन्दा बढी समयदेखि बन्द खानको प्रभाव लोभलाग्दो छ। २०२५ जनवरीमा अल–कादिर ट्रस्ट मुद्दामा १४ वर्षको सजाय सुनाइए पनि उनको लोकप्रियता कम भएको छैन। जेलबाटै उनले पिटिआईको आन्तरिक संरचना नियन्त्रण गर्छन्। हालै उनले खैबर पख्तुनख्वाका मुख्यमन्त्रीमा सोहेल अफ्रिदीलाई सिफारिस गरे। सेनाले यो निर्णय रुचाएन। सेनाका प्रवक्ताले भन्छन्, ‘अफ्रिदी मान्य हुँदैन।’ 

तर केही दिनमै अफ्रिदी मुख्यमन्त्री बने। पिटिआईभित्र खानको पकड बलियो छ। उनले जेलबाटै प्रदर्शनको आह्वान गर्छन्। उनलाई संस्थापक भनिन्छ। निर्वाचन आयोगको कारबाहीपछि उनले अध्यक्ष पद गुमाए। अहिले गौहर अली खान अध्यक्ष छन्, तर महत्त्वपूर्ण निर्णयमा खानको सहमति अनिवार्य छ। खानको लोकप्रियताले पार्टी विभाजनका प्रयास असफल भए। 

खैबर पख्तुनख्वामा पिटिआईको सरकार छ, जसलाई खानले जेलबाटै निर्देशन दिन्छन्। २०२५ अक्टोबरमा उनले अफगानिस्तानसँग तनाव समाधानका लागि परोल मागे। यो प्रभाव उनको करिश्माई व्यक्तित्व र सामाजिक सञ्जालको शक्तिमा आधारित छ। पिटिआईका ९३ सांसदले अफ्रिदीलाई समर्थन गरे, तर तीन जनाबाहेक सबैले मतदान गरे। सेनाले खैबरमा एक सांसद पनि तोड्न सकेन, जसले खानको प्रभाव देखाउँछ। सेनाको दबाबमा शपथमा आनाकानी गरेका गभर्नर फैसल करिम कुन्डीले पेशावर उच्च अदालतको निर्देशनपछि शपथ दिलाए। 

विश्लेषकहरू भन्छन्, ‘खान जेलमा छन्, तर पाकिस्तानको राजनीति उनकै हातमा छ।’  

जेलले खानलाई रोक्न सकेको छैन। २०२४ फेब्रुअरीमा उनले जेलबाटै निर्वाचन धाँधलीविरुद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सन्देश पठाए। विश्वका चर्चित मिडियामा उनको लेख र अन्तरवार्ता प्रकाशित हुन्छन्। उनले सेनाको हस्तक्षेप र लोकतन्त्रको दमनको आलोचना गरे। पाकिस्तानी मिडियामा उनको तस्बिर देखाउन प्रतिबन्ध छ। 

हालै गाजा युद्ध विरामपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इजरायलको झन्डासहित देखाइयो। तर खानको तस्बिर देखाउन मनाही छ, देखाए पनि ब्लर गरेर मात्रै देखाउन पाइन्छ। पाकिस्तान ती देशमा पर्छ जसले इजरायललाई मान्यता दिएको छैन। तर वर्तमान सरकारमाथि मान्यता दिन दबाब छ। खानले जेलबाटै अन्तर्राष्ट्रिय विषयमा आवाज उठाउँछन्। उनको एक्स खाता सन्देश प्रवाहको प्रभावकारी माध्यम बनेको छ। 

पिटिआईले विश्वभर प्रदर्शन गर्छ। ब्रिटेन र अमेरिकाजस्ता देशमा ठुला प्रदर्शन भएका छन्। खानले सेना प्रमुख मुनीरले ‘अघोषित मार्सल ल’ लगाएको आरोप लगाउँदै आएका छन्। सेना अमेरिकासँग निकट छ, जसले वर्तमान सरकारलाई कुनै डर छैन।

पाकिस्तान र सेनालाई अमेरिकामा इरान र अफगानिस्तानमाथि निगरानी बढाउन प्रयोग गर्न खोजेको चर्चा छ। यसबाहेक दुर्लभ खनिजलाई लिएर पनि ट्रम्पले खुबै चासो दिएका छन्। ट्रम्पले बगराम सैन्य अड्डा लिने कुरा गरेपछि पाकिस्तान र तालिबानबिच झडप सुरु भएको बताइन्छ। 

अमेरिका भारतलाई ‘काबुमा’ राख्न इस्लामाबादलाई प्रयोग गर्न चाहन्छ। चीनका लागि पाकिस्तानको रणनीतिक महत्त्व छ। गवादर बन्दरगाह र चाइना पाकिस्तान कोरिडोरमा बेइजिङको ठुलो लगानी छ। बलुचिस्तान र खैबर पख्तुनख्वामा आतंकवाद बढेको छ। आतंकवाद रोक्न सेनाले सैन्य कारबाही गर्दै आएको छ। तर खान यसको विरोधी हुन्, जसले खैबरमा सेनालाई कारबाही गर्न कठिन बनाउने अनुमान गरिएको छ। 

अन्त्यमा,  

सेना प्रमुख मुनीरसँग खानको विवाद खुला छ। २०२५ जुनमा मुनीरको पदोन्नतिलाई खानले ‘रणनीतिक असफलतापछि मुहार बचाउने कदम’ भनेका थिए। उनले मुनीरमाथि आतंकवाद बढाएको र अफगानिस्तानसँग सम्बन्ध बिगारेको आरोप लगाएका छन्।

सेनामाथि सरकार बनाउने–भत्काउने आरोप नयाँ होइन। खानले यो शक्तिलाई चुनौती दिएका छन्। आज जनमत उनको पक्षमा छ। सयौँ मुद्दा र सजायले पनि उनको लोकप्रियता कम भएको छैन। जेलबाटै उनले खैबर पख्तुनख्वामा सरकार परिवर्तन गरे। २०२४ को निर्वाचनमा पिटिआईले अप्रत्याशित जित हासिल गर्‍यो। 

इमरान खानको कथा पाकिस्तानको कथा हो। सरकार ढले, सहयोगीले धोका दिए, बेलायतमा रहेका दुई छोरासँग कुरा गर्न नदिने जेलको यातनाले पनि उनलाई डगमगाएको छैन। अन्तर्राष्ट्रिय मञ्चमा उनको आवाज बलियो छ।

अब प्रश्न छ यो संघर्षले पाकिस्तानलाई कता लैजान्छ? खानको रिहाइ र सेनाको हस्तक्षेप रोक्न सुधार जनताको माग हो। खान भन्छन्, ‘म झुक्दिनँ, पाकिस्तान झुक्दैन।’ एजेन्सीको सहयोगमा

प्रकाशित: ३० आश्विन २०८२ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App