२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावअघि हसिनाका समर्थकको सडक विद्रोह, प्रतिबन्धित अवामी लिग पुनः सक्रिय

फाइल तस्बिर

कुनै समय बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दल रहेको अवामी लिगलाई गत वर्ष सामूहिक जनविद्रोहका क्रममा तत्कालीन नेत्री शेख हसिना सत्ताच्युत भएपछि गैरकानूनी घोषित गरिएको थियो।

तर आगामी चुनाव नजिकिँदै गर्दा उनका समर्थकहरू पुनः सक्रिय बनेका छन्। उनीहरूले सामाजिक सञ्जालमा फैलिएको ‘प्रतिरोध’ को आह्वानबाट प्रेरित भएर प्रतिबन्धलाई बेवास्ता गर्दै देशभर फ्ल्यास मोब शैली (सार्वजनिक स्थानमा सङ्गठित हुने र तुरुन्त तितरबितर हुने तथा सङ्गठित हुन सामाजिक सञ्जालको प्रयोग गर्ने) का विरोध प्रदर्शन सुरू गरेका छन्।

राजधानी ढाकामा ४५ वर्षका सरसफाइकर्मी मोहम्मद कासेमले अवामी लिगका करिब २५ जना निष्ठावान समर्थकहरू सहभागी भएको एक प्रदर्शन देखेका थिए। उनका अनुसार प्रहरीहरूले ती प्रदर्शनकारीलाई पछ्याई कुटपिट गरी हिरासतमा लिएका थिए। ‘यो त केवल एक ठाउँमा होइन, सहरभरि भइरहेको छ,’ कासेमले भने, ‘फेसबुकमा हरेक दिन यस्ता भिडियोहरू देखिन्छन्।’ 

सन् २०२६ फेब्रुअरीमा हुने अपेक्षा गरिएको आगामी निर्वाचन शेख हसिनाको १५ वर्ष लामो शासनपश्चातको पहिलो हुनेछ। जनआन्दोलनको बीचमा भीडले प्रधानमन्त्री आवासमा आक्रमण गरेपछि हसिना भारत निर्वासनमा जान बाध्य भएकी थिइन्। त्यसयता उनले विद्रोहका क्रममा भएको हिंसात्मक दमनको आदेश दिएको आरोपमा मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा अदालतमा हाजिर हुन अस्वीकार गरेकी छन्।

उनको पार्टी र समर्थकहरू भूमिगत अवस्थामा पुगेका छन्। अधिकारीहरूले हालसम्म यस्ता फ्ल्यास मोब प्रदर्शनहरूसँग सम्बन्धित आठ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएका छन्। यी प्रदर्शनहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई चुनावसम्म स्थिरता कायम राख्ने प्रयासमा चुनौती दिएको छ।

जोखिम उच्च भए पनि समर्थकहरू सडकमा उत्रिन रोकिने पक्षमा छैनन्। केही प्रदर्शनहरूमा केवल थोरै मात्र युवा सहभागी हुन्छन् भने कतिपयमा सयौँ मानिस नारा लगाउँदै देखिन्छन् — ‘शेख हसिना फर्किंदै हुनुहुन्छ!’ र ‘बंगलादेश मुस्कुराउँदैछ!’। भीड केही मिनेट नाराबाजी गरेपछि तितरबितर हुन्छन्। कहिलेकाहीँ ढाकाका फरक–फरक भागमा एकैपटक धेरै आकस्मिक प्रदर्शनहरू हुने गरेका छन्। एक दिन मात्रै प्रहरीले दुई सय ४४ जनालाई पक्राउ गरेको बताइएको छ।

कासेमका अनुसार उनले देखेको र्‍यालीमा धेरै प्रदर्शनकारीलाई प्रहरीहरूले कठोर रूपमा कुटपिट गरेका थिए। ‘यी मूर्ख केटाहरू हुन्,’ उनले भने, ‘हेभिवेट नेताहरूले तिनीहरूलाई त्यागे पनि उनीहरूले आफ्नो जीवनलाई जोखिममा राखिरहेका छन्।’

अन्तरिम सरकार यस्ता प्रदर्शनहरूबाट असहज बनेको देखिन्छ। अन्तरिम सरकार प्रमुख युनुसका प्रेस सचिव शफीकुल आलमले गत महिना पत्रकारहरूलाई भने, ‘फासीवादीहरू अस्थिर बनेका छन्, किनकि उनीहरूले देखिरहेका छन् कि देश चुनावतर्फ अगाडि बढ्दैछ र (हसिनाको) मुद्दा तीव्र गतिमा अघि बढिरहेको छ।’ उनका अनुसार सरकारले अब आकस्मिक जुलुस र अन्य अवैध जमघटहरूको निगरानी कडाइ गर्ने निर्णय गरेको छ।

शेख हसिना अहिले पनि सामाजिक सञ्जालमा सक्रिय छन्। उनले युनुसविरुद्ध तीव्र आलोचना गर्दै आफ्ना समर्थकहरूलाई ‘प्रतिरोध जारी राख्न’ आग्रह गरिरहेकी छन्। बंगलादेशी सञ्चारमाध्यमहरूले भूमिगत भएका पार्टी नेताहरूलाई उद्धृत गर्दै गत महिनामा मात्र २० वटा आकस्मिक प्रदर्शन भएको बताएका छन्।

ढाका प्रहरी प्रवक्ता मोहम्मद तालेबुर रहमानले प्रदर्शनहरूको सटीक सङ्ख्या पुष्टि गर्न नसके पनि आठ सयभन्दा बढी व्यक्ति पक्राउमा परेको जानकारी दिए।

सरकारको निर्वाचन सुधार आयोगका सदस्य तथा राजनीतिक विश्लेषक जाहेद उर रहमानका अनुसार शेख हसिनाले आफ्ना समर्थकहरूको सुरक्षालाई जोखिममा पार्दै राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयास गरिरहेकी छन्। ‘उनले आफ्ना कार्यकर्तामाथि भएको कुटपिट र गिरफ्तारीका भिडियोहरू साझा गरेर सहानुभूति जुटाउने रणनीतिमा लागेकी छन्,’ जाहेदले भने।

यसैबीच ह्युमन राइट्स वाचले अवामी लिगमाथि लगाइएको ‘कठोर प्रतिबन्ध’ को निन्दा गरेको छ। संस्थाकी क्षेत्रीय निर्देशक मीनाक्षी गाङ्गुलीले भनिन्, ‘अन्तरिम सरकारले शेख हसिनाको शासनकालमा भएको जस्तो पक्षपातपूर्ण व्यवहार दोहोर्‍याउनु हुँदैन — चाहे त्यो राजनीतिक विरोधीहरूलाई जेलमा पुर्‍याउने होस् वा शान्तिपूर्ण असहमति दमन गर्ने।’

तर विश्लेषकहरूका अनुसार यी निरन्तर प्रदर्शनहरूले आगामी चुनावी तयारीलाई जटिल बनाइरहेको छ। प्रहरी महानिरीक्षक बहरुल आलमले ‘पराजित समूह’ सहितका विभिन्न हितसमूहहरूले चुनाव हुन नदिन प्रयास गरिरहेको आरोप लगाए।

मुख्य अभियोजक ताजुल इस्लामका अनुसार शेख हसिनाको अनुपस्थितिमा पनि अवामी लिगमाथि न्यायिक अनुसन्धान भइरहेको छ। ‘अनुसन्धान प्रतिवेदन तयार भएपछि उचित कारबाही गरिनेछ,’ इस्लामले भने।

भूमिगत अवस्थामै रहेका वरिष्ठ नेता खालिद महमुद चौधरीले भने समर्थकहरू हसिनाप्रतिको ‘समर्पण र प्रेम’ का कारण सडकमा उत्रिरहेको बताए। ‘के तपाईंले देख्नुभएको छ — यी गतिविधिहरूले सरकारको निद्रा भङ्ग गरेको छ?’ उनले हर्षित हुँदै भने। एएफपी

प्रकाशित: २६ आश्विन २०८२ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App