९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई वर्षपछि गाजा युद्ध समाप्त, विपिनसहित बन्धक रिहाइको आशा

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध समाप्त भएको घोषणा गर्दै इजरायलतर्फ उडान भर्दै मध्य पूर्वमा सामान्यीकरण हुने बताएका छन्। विश्व नेताहरू शान्तिको छलफलमा भेला हुन लागेका बेला हमासले बन्धक रिहा गर्ने अपेक्षा गरिएको छ।

‘युद्ध सकियो, तपाईंहरूले बुझ्नुभयो,’ ट्रम्पले वाशिंगटन डीसीबाट इजरायल उडान भर्दै गर्दा एयर फोर्स वानमा पत्रकारहरूसँग भने। क्षेत्रको सम्भावनाबारे सोध्दा ट्रम्पले भने, ‘मलाई लाग्छ यो सामान्य हुँदैछ।’

इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको रिहाइ तथा ट्रम्पको इजरायली संसद सम्बोधनअघि तेस्रो दिन पनि गाजामा इजरायल र हमासबिच युद्धविराम कायम छ। युद्धविरामले युद्ध अन्त्यको आशामा हजारौं प्यालेस्टिनीहरूले विगत दुई महिनादेखि इजरायली आक्रमणको केन्द्र गाजा सहरतर्फ उत्तर यात्रा जारी राखेका छन्।

‘भोलि एउटा नयाँ बाटोको सुरुवात हो। निर्माणको बाटो, उपचारको बाटो, र म आशा गर्छु सबैलाई एकताबद्ध गर्ने बाटो हुनेछ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले टेलिभिजनमा दिएको वक्तव्यमा भने।

‘मानिसहरूमाझ धेरै खुशी छ,’ गाजाका बासिन्दा अब्दु अबु सेदाले भने। इजरायलले सोमबार बिहानै बन्धक रिहा गर्न सुरु गर्ने अपेक्षा छ। नेपालका विपिन जोशीसहित २० जीवित बन्धक आज रिहा हुने विश्वास छ। उनीहरूको रिहाइपछि हमासले बाँकी २८ मृत बन्धकको शव हस्तान्तरण गर्नेछ। युद्धविराम सम्झौता अन्तर्गत सबै ४८ बन्धकहरूलाई रिहा गर्न हमासलाई दिइएको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे (दिउँसो ३:४५ नेपाली समय) सम्म हो। इजरायलले २० बन्धकको सट्टा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्नेछ। 

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। त्यसपछि जवाफी कारबाही गरेको इजरायलले गाजामा ६७ हजारभन्दा धेरैको जyan लिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलका बन्धक संयोजक गाल हिर्शले बिहीबार हमासले पत्ता लगाउन नसकेका मृत बन्धकको अवशेष फेला पार्न कार्यदल गठन हुने बताए। ट्रम्पले सोमबार इजरायलको संसद नेसेटलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बास पनि शिखर सम्मेलनमा भाग लिनेछन्।

शनिबार मध्यपूर्वका लागि ट्रम्प सरकारका राजदूत स्टीव विटकफ र ज्वाइँ जारेड कुशनरले तेल अभिभमा र्‍याली सम्बोधन गरेका थिए। अमेरिकाले इजिप्ट, कतार र टर्कीसँग मिलेर इजरायल र हमासबीच युद्धविराम, बन्धक रिहाइको पहिलो चरणको सम्झौतामा मध्यस्थता गरेको हो।

‘दुई वर्षदेखि हामी यो दिनको लागि पर्खिरहेका छौं, यो क्षणको लागि हामी सबै परिवारको लागि, बन्धकहरूको लागि, अन्तत: हामी तिनीहरूलाई देख्न पाउनेछौं भनेर खुशी छौं,’ प्रदर्शनकारी डालिया योसेफले ट्रम्पलाई धन्यवाद दिँदै भनिन्।

इजरायली रक्षामन्त्री इजरायल काट्जले बन्धक फिर्ता भएपछि सेनाले गाजामा हमासले बनाएका भूमिगत सुरुङ ध्वस्त पार्ने बताए। उत्तरी गाजामा फर्केका प्यालेस्टिनीहरूले व्यापक विनाश देखेका छन्। उद्धारकर्मीहरूले क्षेत्रमा विस्फोट नभएका हतियार र बम हुन सक्ने चेतावनी दिएका छन्।

सहायता समूहसँग समन्वय गर्ने प्यालेस्टिनी संस्थाका प्रमुख अमजद अल-शावाले १५ लाख विस्थापित गाजावासीलाई अस्थायी बसोबासका लागि तीन लाख पाल चाहिने अनुमान गरे।

‘हामीले देखेको विनाशलाई विश्वास गर्न सकेनौं,’ ३७ वर्षीय रामी मोहम्मद-अलीले आफ्नो छोरासँग देइर अल-बलाहबाट गाजा सहरसम्म १५ किलोमिटर पैदल यात्रा गरेपछि फोनमा भने।

‘हामी गाजा सहर फर्कन पाउँदा खुसी छौं तर साथै हामीलाई विनाशको बारेमा तीतो भावना छ,’ उनले सडकमा छरिएका मानव अवशेष देखेको वर्णन गर्दै भने। एजेन्सी

प्रकाशित: २७ आश्विन २०८२ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App