पूर्वी भारतको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा दश जना बिरामीहरूको मृत्यु भएको छ।
ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले जानकारी दिए।
बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किट सर्ट भएका कारण आगलागी भएको बताइएको छ।
घटनाको समयमा २३ जना विरामी उपचाररत रहेको पुष्टि गर्दै उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको जनाए।
बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत् पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पिडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन्।
यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए।
सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो।
-एएफपी
प्रकाशित: २ चैत्र २०८२ १४:५१ सोमबार





