एलन मस्कको कम्पनी स्पेसएक्स शुक्रबार वाल स्ट्रिटमा सूचीकृत हुँदा उनी विश्वकै पहिलो १० खर्ब डलरभन्दा बढी सम्पत्तिको मालिक (ट्रिलियनियर) बनेर इतिहास रच्ने लगभग निश्चित देखिएको छ। १० खर्बभन्दा बढी कुल सम्पत्ति भएकालाई ‘ट्रिलियनियर’ भनिन्छ।
त्यसो त, मस्क यसअघि नै विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। स्पेसएक्सले बिहीबार आफ्नो शेयरको कीर्तिमानी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) घोषणा गर्नुअघि उनको सम्पत्ति करिब ६ खर्ब ९६ अर्ब डलर रहेको ब्लुमबर्ग सूचकांकले जनाएको छ।
तर रकेट तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सक्रिय स्पेसएक्समा रहेको उनको ४२ प्रतिशत स्वामित्व रहेका कारण सम्पत्तिको हिसाबले उनी पूर्णतः नयाँ उचाइमा पुग्नेछन्। न्यास्ड्याक स्टक एक्सचेन्जमा स्पेसएक्सको १७.७ खर्ब डलर मूल्यांकनसहित कारोबारमा आउनेछ। कम्पनीले प्रति शेयर १३५ डलरका दरले ५५ करोड ५६ लाख शेयर बिक्री गर्नेछ।
मस्कको स्वामित्वमा रहेको हिस्साको कुल मूल्य ७ खर्ब ४३ अर्बदेखि ८ खर्ब ६६ अर्ब डलरसम्म पुग्ने अनुमान छ। यदि सबै योजना अपेक्षा गरेअनुसार भएमा टेस्ला कम्पनीका प्रमुख कार्यकारीसमेत रहेका मस्क शुक्रबार बजार बन्द हुनुअघि नै आधिकारिक रूपमा १० खर्बभन्दा बढी सम्पत्तिको मालिक बन्नेछन्।
विश्वका दोस्रो धनी व्यक्ति रहेका गुगलका सह–संस्थापक ल्यारी पेजको सम्पत्ति करिब ३ खर्ब ४ अर्ब डलर रहेको छ। मस्क उनीभन्दा तीन गुणाभन्दा बढी धनी हुनेछन्।
इतिहासमा विभिन्न कालखण्डका सम्पत्तिको तुलना गर्न कठिन भए पनि धेरै अर्थशास्त्री र इतिहासकारहरूका अनुसार मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्तिमध्ये एक बन्ने बाटोमा छन्।
सन् १८४८ मा मृत्यु हुँदा अमेरिकी व्यवसायी जोन ज्याकोब अस्टरको सम्पत्ति अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १ प्रतिशत बराबर थियो।
स्टील उद्योगपति एन्ड्रु कार्नेजीको सम्पत्ति उनको मृत्युका बेला अमेरिकी जीडीपीको करिब ०.५ प्रतिशत बराबर थियो। तेल उद्योगका दिग्गज जोन डी रकफेलरको सम्पत्ति सन् १९३७ मा अमेरिकी जीडीपीको करिब १.५ प्रतिशत बराबर थियो। यदि मस्क खर्बपति बने भने उनको सम्पत्ति अमेरिकी जीडीपीको करिब ३ प्रतिशत बराबर हुनेछ।
इटालीको बोक्कोनी विश्वविद्यालयका आर्थिक इतिहासका प्राध्यापक गुइडो अल्फानीका अनुसार, “सम्राट वा शासकहरूलाई बाहेक गर्ने हो भने एलन मस्क सम्भवतः मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति हुन सक्छन्।”
(अन्तर्राष्ट्रिय समाचार माध्यमको सहयोगमा)
प्रकाशित: २९ जेष्ठ २०८३ १६:४६ शुक्रबार





