दृश्यहरू
१
म चुपचाप हिँडिरहन्छु। भिडभाड छ। धुवाँधुलो उस्तै छ। बतास चलेर घरिघरि आँखाभरि धुलो पर्छ। यसो सलको छेउले पुछेर हेर्छु, धुलोका कणहरूले आँखा नराम्रोसँग बिझाउँछ।
म उपचारको सिलसिलामा झापाबाट काठमाडौं आएर बसेको पनि महिना दिन भइसकेको छ।
आँखा बिझाउँछ धुलोले, मन बिझाउँछ पीडाले। बिझाइरहेको मन र आँखा लिएर म सैनिक मञ्चको छेउबाट अगाडि बढ्छु। दायाँबायाँ मानिसहरूको भिडभाड, गाडीहरूको ट्याँट्याँ, टुँटुँ, होहल्लाले टाउको भारी भएकोजस्तो लाग्छ।
मास्क मिलाएर लगाउँछु। लाग्छ, मलाई कसैले नचिनून्, नबोलाऊन्। मलाई कसैसँग बोल्न मन छैन, हाँस्न मन छैन तर किन ?
मनमा प्रश्नहरू उठिरहन्छन्, बसिरहन्छन्। पर पर हेर्छु, यस्तो लाग्छ– यो महानगरमा म एक्लै हिँडिरहेछु, बाँचिरहेछु, मरिरहेछु।
सडकको किनारामा गीत गाएर बसिरहेका दृष्टिविहीनहरूअगाडि रित्तै छन् पैसा थाप्न राखिएका प्लास्टिकका जालीदार भाँडा। कस्तो नमिठो लाग्छ ! रित्तो त म पनि रित्तै छु, रित्तै छन् गोजीहरू !
सबैलाई सहयोग गर्ने इच्छा भएर पनि सहयोग गर्न नसकेको तितोपन बोकेर अगाडि बढ्छु।
रुखको फेदमा चारपाँच प्याकेट वाईवाई, एक बट्टा चकलेट, अलिकति छुर्पी, दुईतीन प्याकेट चुरोट र गुट्खा अनि पसलेहरू नियाल्दै म अघि बढिरहन्छु।
महाँकाल मन्दिरलाई एक हातले ढोेगेर सपनाहरूको लामो लिस्ट बुझाएर म मात्रै होइन, अधिकांश बटुवाहरू हिँड्दै थियौं।
२
शङ्खधर पार्कको गेटमा पुगेर म टिकट काटेर पार्कभित्र छिर्छु। पार्कभित्र छिरेपछि एक्लै भएको आभास झन् गाढा भयो। सबै साथी, परिवारसँग आएका रहेछन्। ठुल्ठुला कपुरका बोट महानगरलाई अक्सिजन दिएर कहिलेदेखि यसरी उभिएका होलान् ? म सोच्छु। यी बोटहरूप्रति महानगर कृतज्ञ होला कि नहोला ?
यताउता हेर्छु, काभ्राका रुखले पाउलो फेर्दै रहेछन्। उहिले गाउँमा यसरी काभ्राको अमिलो पत्ता खोजेर अचार बनाएर खान्थ्यौं, आमाले सुकाएर राख्नुभएको अकबरे खुर्सानीसँग पिसेर। मुख रसायो अचार सम्झेर ! ती पुराना दिन अनि इलाम, अकबरे सम्झँदै यताउता टहलिन्छु, एक्लै एक्लै !
म एउटा फलैंचामा बस्छु, फुलेका फूलहरू हेर्छु अनि कोपिला लागेका गुलाबका बोटहरू हेर्छु। सम्झन्छु यी कोपिला फुल्दा त असाध्यै राम्रा देखिन्छन् होला तर मैले देख्न पाउँदिनँ, झापा घर फर्कनु छ।
महानगरको भागदौडदेखि एकछिन फुर्सद निकालेर सुस्ताउन आइपुगेका मानिसहरू निष्फिक्री कोही घाम तापिरहेका थिए, कोही शीतल खोजीमा हिँडिरहेका थिए।
पार्कमा बालकदेखि वृद्धसम्म सबै आआफ्नै धुनमा व्यस्त थिए, मस्त थिए। म भिडभाडभन्दा अलि पर फलामका बारदेखि भित्र फूलहरूसँग, पातहरूसँग, बतास र घाम अनि रुखका छहारीसँग म पनि सबै सबै भुलेर एकछिन बसेँ, हाँसेँ अनि रमाएँ।
केही युवाहरू हातमा क्यामेरा बोकेर डुलिरहेका थिए। एक स्न्याप तस्बिर खिचेको २५ रुपैयाँ रे !
‘कमाई ठिकै हुन्छ म्याम ! यसो बाँचिएको छ,’ एक जना भाइले अलि लजाएझैं गरेर मेरो प्रश्नको जवाफ दिए।
‘तपाईंको पनि तस्बिर खिचिदिऊँ म्याम ?’
‘पर्दैन भाइ,’ मैले भनेँ तर ती भाइले मेरो तस्बिर खिचिदिए। मैले २५ रुपैयाँ तिर्न परेन किनकि उनी मेरो पाठक र टिकटक फलोवर रहेछन्।
‘धन्यवाद भाइ,’ मैले भनेँ। ‘म्याम मलाई फलोब्याक दिनुस् ल प्लिज,’ उनले भने। यो कस्तो माया ? कस्तो आत्मीयता ?
३
म बसिरहेको ठाउँबाट उठेर छातास्तम्भ भएनजिकै जान्छु। मेराअगाडि दुई युवायुवती जोडतोडले पढिरहेका थिए, लेखिरहेका थिए। मलाई हेरेर उनीहरू दुवैजना अलिकति मुस्कुराए।
‘म यहाँ नजिकै बस्न सक्छु नि ?’ मैले सोधेँ। मेरो पनि हातमा ‘नागरिक दैनिक’ थियो।
‘बस्नुस् म्याम,’ दुवैले आत्मीयतापूर्वक भने। केही क्षण कुराकानी भयो। भाइ बैतडीका रहेछन् भने बहिनी सुर्खेतकी रहिछिन्।
‘मेरो नि घर बैतडी हो नि,’ मैले भनेँ।
‘भाषा बोल्नुहुन्छ ?’ बैतडीका भाइले सोधे।
‘भाषा त आउन्न हो मलाई तर थोरै थोरै बुझ्छु,’ मैले अलिकति हाँस्दै भनेँ। उनीहरूले थर्मसमा चिया बोकेर आएका रहेछन्। बैतडीको गफसँगै तातो चिया पनि पाएँ।
‘भौजी...’ उनीहरूले भने। यो आफ्नोपनको आभास पनि कति मिठो र प्रिय रहेछ।
‘हजुरको लभ म्यारिज हो ?’ सुर्खेतकी बहिनीले सोधिन्। ‘हो नि !’ मैले चियाको एक घुट्की निल्दै भनेँ।
‘है ? सुदूरपूर्व र सुदुरपश्चिमको अनमोल प्रेम...!’ तिनै सुर्खेतकी बहिनीले भनिन्।
‘हाम्रा दाजै सरकारी जागिरे हुन् के रे ?’ बैतडीका भाइले अलिकति हाँस्दै सोधे। ‘हो नि, उहाँ नेपाली सेना, इलाम ब्यारेकका हुनुहुन्थ्यो !’ मैले भनेपछि उनीहरू दुवै जनाले मुस्कुराउँदै भने– अड्कल त हामीले काटेकै हो।
उनीहरू दुवै जना लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै रहेछन्।
‘ठुल्ठुला सपना छैनन्, बस्, परिवारसँग बसेर देशको सेवा गर्न पाइयोस्। अलिकति मेहनत र प्रयास गर्ने हो भने यही देशमा बाँच्न सकिन्छ, हाँस्न सकिन्छ भौजी,’ बैतडीका भाइले भने।
एकैछिनको कुराकानीपश्चात् मसँग बिदा माग्ने तरखरमा थिए उनीहरू। यही देशमा बस्नुपर्छ, यही देशमा बाँच्नुपर्छ, देशमा केही त पक्कै छ भन्ने आशासहित मसँग बिदा मागेर हातमा लोकसेवा आयोगको किताब बोकेर हिँडे, मेरो अग्रीम शुभकामना लिएर !
४
‘दिदी, म यहाँ बसौं ?’ एक जना १७–१८ वर्षकी युवती मेरो नजिकै उभिएर सोध्दै थिइन्।
‘भइहाल्छ नि !’ मैले भने।
उनले हाते ब्याग मेरो छेउमा राखिन् र थपक्क बसिन्। म उनलाई हेरेर अलिकति हाँसिदिन्छु। उनी पनि हाँसेजस्तै लाग्छ किनकि हामी दुवैले मास्क लगाएका थियौं।
म चुपचाप टोलाइरहन्छु, पर पर हेरिरहन्छु। ‘मलाई त यहाँ यस्तो राम्रो पार्क छ भन्ने थाहै थिएन,’ उनैले भनिन्।
‘राम्रो रहेछ तर चिया नभएर अलि खल्लो !’ मैले भनेँ।
‘वाउ, तपाईं पनि चिया लभर हो ? मेरो ममीजस्तै ?’
मैले टाउको हल्लाएँ।
‘हेर्नु न, आज मलाई कामदेखि निकालिदिनु भयो अनि घर गएँ भने ममीले गाली गर्नुहुन्छ। ममीको गाली खानुभन्दा बरु यहीं बस्छु दिनभर। पाँच बजे छुट्टी हुन्छ अनि घर जान्छु,’ उनले आफ्नो विवशता पोखिन्।
‘किन गाली गर्नुहुन्छ ? मैले सोधेँ।
‘बिहानैदेखि छिटो गर, ढिलो हुन्छ भनिरहनुभएको थियोे मलाई,’ उनले अनुहारमा आएको कपाल मिलाउँदै भनिन्।
‘कहाँ काम गर्नु हुन्छ नि ?’ मैले फेरि सोधेँ।
‘म काठमाडौं मलमा काम गर्छु। एउटा कपडा पसलको एकाउन्ट हेर्छु। आज १५ मिनेट ढिला भएको थियो। मलाई काम गर्नै दिएनन्। कस्तो गाह्रो छ यहाँ काम गर्न पनि !’ उनले मास्क खोल्दै भनिन्।
‘घर चाहिँ कहाँ हो बहिनी ?’ मैले प्रश्न गरेँ।
‘सिन्धुली।’
उनीसँग घरायसी कुराकानी भए।
‘सानैमा बुबाले छोडेपछि ममीले धेरैले दुःख गरेर हामीलाई हुर्काउनुभयो। अहिले हामी तिनकुनेमा कोठा भाडा लिएर बसेका छौं। दिदीको बिहे भइसक्यो। दाइ अस्ट्रेलिया हुनुहुन्छ। म पनि उतै जाने तयारी गर्दै छु।’ उनले मिनरल वाटरको एक घुट्की पानी निल्दै भनिन्।
‘देशमा नबस्ने ?’ मैले सोधेँ।
‘देशमा के छ र दिदी ? जति दुःख गरे पनि खान लाउन नै पुग्दैन !’
म बोलिनँ।
‘यो देशमा केही छैन दिदी। आज मेरो दिनै खराब भयो। घर गएर पढेको भए नि हुन्थ्यो, फेरि ममी दिनभरि कराउनुहुन्छ’ उनी आफैंसँग असन्तुष्टि पोख्दै थिइन्।
उनी आँखाभरि अस्ट्रेलिया सजाएर मोबाइल चलाउँदै थिइन्।
म निःशब्द भएँ।
५
घाममा एकैछिन बसेपछि फेरि शीतल खोज्दै हिँड्ने अनि शीतलमा एकछिन बसेपछि घाम खोज्दै हिँड्ने। यो मानवीय स्वभाव ममा पनि भरी भरी छ !
चरक्क चर्केको घाम छोडेर म सेड घरमा बसेँ। त्यहाँ अरु पनि थिए।
‘सेड घरमा सुत्न मनाही छ।’ सूचना टाँसिएको रहेछ।
हामी मान्छे जति नै पढेलेखेका, ज्ञानी भए पनि अरूले नै हामीलाई बारम्बार सम्झाइरहनुपर्ने नियम किन होला?
‘कृपया फूल नटिपिदिनु होला, कृपया यहाँ नथुकिदिनुहोला, कृपया खाना खानुअघि साबुन पानीले हात मिचिमिची धुनुहोला, कृपया दिशा गरिसकेपछि पानी हालिदिनुहोला, कृपया...!’ लेखिएका आग्रहहरू सम्झन्छु। मलाई अलिकति असहज लाग्छ।
अचम्म लाग्छ, हामी स्वयं जानेर पनि किन अन्जान बन्छौ होला ? सम्झँदा सम्झँदै सेड घरमा एकछिन बसिसकेपछि कस्तो टाउको अड्याएर ढल्किन पाए हुन्थ्योजस्तो लाग्यो।
दौडिन प¥योे भने हिँड्न पाए हुन्थ्यो, हिँड्न पाए बस्न पाए हुन्थ्यो अनि बस्न पाएपछि लागिहाल्ने सुत्न पाए नि हुने...’ हामीलाई सधैं लागिरहने कुरा रहेछ। सम्झेर खिस्स हाँस्छु म।
यताउता नजर दौडाउँछु, चउरमा पुरुषहरू निष्फिक्री सुतिरहेका छन्, निदाइरहेका छन्।
‘ओह ! कस्तो पिठ्युँ दुखेको छ। एकछिन ढल्किन पाए नि हुन्थ्यो,’ मेरै मनको प्रतिनिधित्व गर्दै छेउमा बस्नुभएकी एकजना दिदी बोल्नुभयो।
‘हुन्थ्यो नि,’ मैले अलिकति हाँस्दै भनेँ।
‘खै, यी छोरा मान्छेलाई जस्तो सजिलो हामीलाई नहुँदो रहेछ नानी ! जहाँ पायो त्यहाँ डङ्ग्रंग सुत्न नमिल्ने ! जस्तै थाके पनि ती छोरा मान्छेजस्तो हुन नमिल्ने।’
‘हो है दिदी, सबै कुरा भनेजस्तो सजिलो पटक्कै हुँदैन।’
घाम ढल्केपछि अलिपर काभ्राको बोटनेर गएर बसेँ। अलिअलि हावा चलिरहेको थियोे। यता मन भने खै केले हो, भतभती पोलिरहेको थियोे। अचम्म लाग्छ, जस्तो हिमपात भए पनि, बतास चले पनि मनमा बलेको आगोले पोल्नै नछाड्ने, पोलिरहने !
म एक्लै छु। सँगै बसेका अरू फर्किसके। दायाँबायाँ हेर्छु। भिडभाड उस्तै छ। बालबालिका खेलिरहेका छन्, उफ्रिरहेका छन्। म झट्ट मेरो आदित्य (छोरा) लाई सम्झन्छु। लाग्छ ऊ भएको भए यसरी नै खेल्थ्यो होला, उफ्रन्थ्यो होला, हाँस्थ्यो होला !
हामी मान्छेका दिन यस्तै होलामा अल्झँदो रहेछ।
प्रकाशित: १६ श्रावण २०८३ ११:०२ शनिबार





