५ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

भोटेकोशी प्रभावितलाई कागजी प्रक्रियामा अल्झाएर राख्न हुँदैन : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढी प्रभावित परिवारलाई कागजी प्रक्रियाका कारण थप अन्योलमा नराख्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभामा बोल्दै धितालले भोटेकोशी बाढी गएको एक महिना पुग्न लाग्दा पनि ठूलो संख्यामा मानिसको अवस्था अझै टुंगो लाग्न नसकेको बताइन्। उनले हालसम्म एक हजार ४५१ जनाको मृत्यु पुष्टि भएको र पाँच हजार ७८६ जना अझै सम्पर्कविहीन रहेको बताइन्।

आफन्तको अवस्था पत्ता लाग्ने आशामा बसेका परिवारले अब आशा मार्नुपर्ने अवस्था आएको धितालको भनाइ छ। केही परिवारले परम्परागत विधिअनुसार अन्तिम संस्कारको प्रक्रिया अघि बढाइसके पनि उनीहरूको कानुनी र प्रशासनिक काम भने टुंगिन नसकेको उल्लेख गरिन्। 

उनले प्रभावित परिवारले आफ्ना आफन्तको मृत्युको औपचारिक र निश्चित कागजी प्रमाण नहुँदा राज्यबाट पाउने सेवा-सुविधा तथा सम्पत्ति हस्तान्तरणलगायतका काममा समस्या भोगिरहेको सुनाइन्।

‘नागरिकको कानुनी हैसियत, सम्पत्ति हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ,’ धितालले भनिन्।

उनले राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि बनाउन ढिलाइ गरेर प्रभावित नागरिकलाई थप अन्योलमा राख्न नहुने बताइन्।

प्रकाशित: ५ आश्विन २०८३ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App