जनकपुरमा बिहीबारदेखि लगाइएको कर्फ्यु हटाएर केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। शनिबार १० बजेदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति मार्फत जानकारी गराइएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम तपसिलको चारकिल्ला भित्र कर्फ्यु आदेश जारी गरिएकोमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार शनिबार विहान १० बजेदेखि हटाइएको विज्ञप्ति मार्फत जानकारी गराइएको हो।
कर्फ्यु हटाइएपनि अर्को आदेश नभएसम्म धनुषाका केही स्थान तोकेर निषेधाज्ञा लगाइएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
जनकपुर भन्दा उत्तर लक्ष्मीनिया बजारदेखि लक्ष्मीनिया गाउँपालिका-७ देखि पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म र जनकपुरभन्दा पूर्व बेलौनी रोड- एम.क्यू.स्टीलबाट ५ सय मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म निषेधाज्ञा जारी गरेको छ।
त्यस्तै, दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चौकसम्म र पश्चिममा सिनरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी हुँदै इस्कोन जनकपुर दुधमती पुल बेला कादरी मस्जिदसम्म निषेधाज्ञा लगाइएको छ।
प्रमुख जिल्ला अधिकारको अगुवाइमा हिन्दु मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिले जनकपुरमा सद्भाव र्याली निकालेको थियो। यद्यपि र्यालीमा आफूहरू नबोलाइएको भन्दै हिन्दु समुदायका केही युवाहरूले असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएका छन्।
प्रकाशित: १६ श्रावण २०८३ १०:३९ शनिबार





