१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित

पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो। अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये एक नर्सले एक जनालाई मात्र उद्धार गर्न सकेकी थिइन्। 

निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपत्कालीन सेवाका महानिर्देशकसहितका अधिकारी छन्। 

प्रधानमन्त्री सरिफले शनिबार जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने र उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए। उनले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्ध समेत कारबाही अघि बढाउन स्वीकृति दिएका छन्। 

प्रतिवेदनअनुसार आगलागी सुरु भएको करिब छ मिनेटपछि आपत्कालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो। अभिभावक तथा प्रत्यक्षदर्शीहरूले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसहरूलाई भवनबाट बाहिरिन रोकेको आरोप लगाएका छन्। 

अस्पतालमा आगलागी तथा अन्य आपत्कालीन अवस्थासम्बन्धी पर्याप्त सञ्चालन कार्यविधि र तालिमको व्यवस्था नभएको पनि प्रतिवेदनमा उल्लेख छ। आगलागी हुँदा वार्डमा दुई नर्स, एक महिला सुरक्षाकर्मी र अर्का एक कर्मचारी उपस्थित थिए। 

स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एयर कन्डिसनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताउनुभएको थियो। तर प्रारम्भिक प्रतिवेदनले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ। घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई पदबाट हटाइएको थियो। 

पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना हुने गरेका छन्। गत जनवरीमा कराँचीको एक सपिङ सेन्टरमा भएको आगलागीमा ६५ जनाभन्दा बढीको मृत्यु भएको थियो। सन् २०२३ मा कराँचीकै अर्को सपिङ मलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: १४ भाद्र २०८३ १७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App