१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

निगमले भन्यो- कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास र इन्धन ल्याइँदैछ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा बाढीका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाएको छ।

निगमका अनुसार आइतबार त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक कटान गर्दा नियमित ढुवानी अवरुद्ध हुन पुगेको हो।

सडक अवरोधपछि निगमले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी काठमाडौं तथा आसपासका जिल्लामा ग्यास वितरण गर्ने उद्योगहरूलाई बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायत पायक पर्ने अन्य जिल्लाका उद्योगहरूसँग समन्वय गराएको छ।

जसअनुसार ती उद्योगहरूमा आ-आफ्ना ग्यास बुलेट खाली गराई सिलिन्डर रिफिल गर्ने र कृष्णभीरको बाटो नखुलेसम्म ट्रकहरूमार्फत वैकल्पिक बाटोबाट काठमाडौं ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी, पेट्रोलियम पदार्थ एवं एलपी ग्यासको आपूर्तिलाई निरन्तरता दिन स्थानीय प्रशासनसँगको समन्वयमा ट्यांकर तथा ट्रकहरूलाई वैकल्पिक मार्गबाट काठमाडौं भित्र्याएर आपूर्ति व्यवस्था सहज बनाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App