विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यसलाई 'विश्वव्यापी स्वास्थ्य आपतकाल' घोषणा गरेको छ। डब्लुएचओको यो घोषणालगत्तै विश्वभर नै सतर्कता बढाउन थालिएको छ।
अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) र युगान्डामा तीब्र रूपमा फैलिरहेको यो संक्रमण यसपटक इबोलाको दुर्लभ मानिने 'बुन्डिबुग्यो' प्रजातिका कारण भएको हो। यस प्रजातिका लागि हालसम्म कुनै प्रमाणित खोप वा निश्चित उपचार उपलब्ध नभएकाले विश्वभर थप त्रास बढेको छ। हालसम्म त्यहाँ एक हजारभन्दा बढी शङ्कास्पद तथा प्रमाणित संक्रमित भेटिएका छन् भने कम्तीमा २३१ जनाको मृत्यु भइसकेको छ।
यसैबिच भारत सरकारले पनि संक्रमणलाई लिएर उच्च सतर्कता बढाएको छ। खासगरी कंगो, युगान्डा र सुडानको यात्रा गर्ने नागरिकहरूलाई सावधानी अपनाउन र आवश्यक नपरी त्यहाँ नजान भनिएको छ। ती देशबाट फर्किएका मानिसहरूमा ज्वरो आउने, कमजोरी हुने, वान्ता हुने, झाडापखाला लाग्ने, घाँटी दुख्ने र शरीर दुख्नेजस्ता लक्षण देखिएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न सरकारले आग्रह गरेको छ। भारतका विभिन्न विमानस्थलमा यात्रुहरूको स्वास्थ्य परीक्षण र स्क्रिनिङलाई तीव्र बनाइएको छ।
अफ्रिकी देश कंगोमा पछिल्लो समय इबोलाको डर यति धेरै बढेको छ कि त्यहाँ स्यानिटाइजर र मास्कको माग अत्यधिक बढेर मूल्य कैयौँ गुणा वृद्धि भएको छ। संक्रमितहरूको संख्या थपिँदै जाँदा स्थानीय अस्पतालहरू पनि बढ्दो दबाबमा परेका छन्।
अमेरिकाले कंगो, युगान्डा र रुवान्डाबाट आउने यात्रुहरूलाई विमानस्थलमै स्क्रिनिङ गर्न सुरु गरेको छ। त्यहाँ अवतरण हुने यात्रुहरूलाई अनिवार्य रूपमा स्वास्थ्य सम्बन्धी जानकारीमूलक कार्डहरू हस्तान्तरण गर्ने गरिएको छ। चीनले पनि इबोलालाई लिएर कडा चेतावनी जारी गर्दै अफ्रिकी मुलुकबाट आउने यात्रुमाथि विशेष निगरानी राखेको छ।
त्यस्तै, जापानले इबोला प्रभावित क्षेत्रहरूका लागि यात्रा जोखिम चेतावनी जारी गरेको छ भने फ्रान्सले पनि विमानस्थलमा निगरानी बढाउँदै आफ्ना अस्पतालहरूको तयारीलाई मजबुत बनाएको छ।
विश्वमा इबोला भाइरस रोग (ईभीडी) लागेका २५ देखि ९० प्रतिशतसम्म बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ। यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा देखा परेको थियो। त्यसबेला सुडान र तत्कालीन जाइरे (हालको प्रजातान्त्रिक गणतन्त्र कंगो) मा पहिलो पटक यसको संक्रमण भेटिएको इतिहास छ। अहिले पुनः यो भाइरस नयाँ रूपमा देखा परेपछि विश्व स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिएको छ। एजेन्सी
प्रकाशित: ११ जेष्ठ २०८३ ०९:१२ सोमबार





-600x400.jpg)