१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

तोडफोड र आगजनी गरिएको भवनमा वडा प्रहरी कार्यालय स्थापना

जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको इटहरीमा रहेको इलाका प्रहरी कार्यालयलाई मर्मत सम्भार गरी वडा प्रहरी कार्यालय स्थापना गरिएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेबेले वडा प्रहरी कार्यालयको उद्घाटन गरका हुन्।

जेनजी पुस्ताको आन्दोलनमा तोडफोड र आगजनी भएपछि विस्थापित भएको इलाका प्रहरी कार्यालय भने इटहरीको रंगशाला पछाडि रहेको ज्येष्ठ नागरिकको भवनमा सरेको छ।

आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि प्रहरी चौकी तरहराको नयाँ भवनमा सरेका प्रहरी झन्डै एक महिनापछि इटहरी उपमहानगरपालिकाको अग्रसरतामा इटहरी रंगशाला पछाडि सारिएको थियो।

इलाका प्रहरी कार्यालय रंगशाला पछाडि सारिएसँगै बजार क्षेत्रमा सुरक्षा चुनौती बढेकाले स्थानीय सरकार, विभिन्न संस्था, समाजसेवी तथा दाताहरूको सहयोगमा पुरानो भवन मर्मत सम्भार गरी वडा प्रहरी कार्यालय स्थापना गरिएको हो।

वडा प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक होमप्रसाद खनालको कमान्डमा १० सदस्यीय टोली रहेको छ।

इटहरी उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिवस पोखरेलले समुदाय र प्रहरीबिचको सहकार्यले नागरिकको सुरक्षा थप सुदृढ हुने विश्वास व्यक्त गरे। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले व्यस्त व्यापारिक क्षेत्रमा प्रहरीको प्रत्यक्ष उपस्थितिले व्यवसायी र सर्वसाधारणमा सुरक्षा अनुभूति बढ्ने बताए।

आगजनी र तोडफोड गरिएको कार्यालयको मर्मत–सम्भारका लागि काँकडभिट्टा–लौकही सडक आयोजनाका प्रमुख जगत प्रजापति र अस्मित पोखरेलको सहयोगमा सात लाख १६ हजार रुपैयाँबाट कम्पाउन्ड वाल र गोलघर निर्माण गरिएको छ।

इटहरी वडा नं. ६ का वडा अध्यक्ष दिवस पोखरेलले दुई लाख ९३ हजार रुपैयाँ बराबरको मर्मत तथा रंगरोगन गरेका छन्। यस्तै, राकेश साह र यामप्रसाद दाहालले विद्युत् तथा वायरिङका लागि एक लाख रुपैयाँ, होम रिजालले ८३ हजार बराबरका आल्मुनियम झ्याल–ढोका, इटहरी वडा नं. ६ का वडा सदस्य रमला तामाङ र खगेन्द्र श्रेष्ठले जनही ५० हजार रुपैयाँ तथा राम श्रेष्ठले ४० हजार ५ सय रुपैयाँ बराबरका तीनवटा डबल बेड सहयोग गरेका छन्।

भोजराज दाहाल, गायत्री कटवाल भण्डारी, राजन कार्की, उमेश दाहाललगायतले पनि विभिन्न आवश्यक सामग्री उपलब्ध गराएका छन्।

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते इटहरीमा दुई जनाको मृत्यु भएपछि त्यसको भोलिपल्ट आक्रोशित भएको समूहले विभिन्न सरकारी कार्यालय, सार्वजनिक पद धारण गरेका व्यक्ति र प्रहरी कार्यालयलाई निसाना बनाएर आगजनी तथा तोडफोड गरेको थियो।

जसमा प्रहरी कार्यालयतर्फ इलाका प्रहरी कार्यालय इटहरीसँगै हलगडा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पकली आगजनी गरेका थिए।  हलगढा र इलाका प्रहरी कार्यालय पकली आन्दोलनको केही समयपछि पुनर्स्थापित भएका थिए।

जेनजी पुस्ताको आन्दोलनका कारण खनार प्रहरी र जनता बस्तीको प्रहरी चौकीमा आंशिक क्षति भएको थियो। तरहराको प्रहरी चौकी जलाउन गएको समूहलाई भने स्थानीयले प्रतिकार गरेपछि जोगिएको थियो।

आन्दोलनका बेला इलाका प्रहरी कार्यालयका दुईवटा गाडी पनि जलेका थिए। इलाका प्रहरी कार्यालय आगजनी तथा तोडफोड हुँदा कम्तीमा पाँच करोडको क्षति भएको थियो।

इटहरीमा डिएसपीको दरबन्दीमा इलाका प्रहरी कार्यालय छ। त्यस्तै, इटहरीको जनसंख्या वृद्धिसँगै इलाका प्रहरी कार्यालय पकलीले पनि चारवटा वडा वडा नं. १५, १६, १७ र १८ को शान्ति सुरक्षालाई आफ्नो क्षेत्राधिकारभित्र राखेर हेर्ने गरेको छ।

इटहरीको तरहरामा नयाँ र पुरानो गरेर दुईवटा,  खनार र वडा बालग्राममा स्थायी प्रहरी चौकी रहेको छ। यस्तै, तालतलैया, हवाई चोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बुढी खोला र शान्ति झोडामा अस्थायी प्रहरी चौकी रहेको छ।

यहाँ सिआरभी प्रहरीको बिट पनि रहेको छ। अहिले इटहरी मातहत १६१ प्रहरीको दरबन्दी छ। इलाका प्रहरी कार्यालयमा भने अलगै इन्स्पेक्टरको नेतृत्वमा प्रहरीको दरबन्दी रहेको छ। 

प्रकाशित: १ श्रावण २०८३ १८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App