२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

कोलकाता–विराटनगर रेल कार्गो सेवा सञ्चालनमा, तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालसम्म ढुवानी गर्ने प्रक्रियामा महत्वपूर्ण विस्तार गर्दै कोलकाता–विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नेपाल–भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक, रेल र जलमार्ग प्रयोग गर्न सकिने व्यवस्था छ।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसीटीएस) नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल सेवा सञ्चालनको अनुमति दिएको थियो।

उक्त निर्णय कार्यान्वयनका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरेको जनाएको छ।

त्यसपछि २६ फेब्रुअरी २०२६ मा कोलकाता भन्सारले सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाली भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो।

सोही व्यवस्थाअनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा सुरु गरिएको हो। 

नेपाली महावाणिज्य दूत झक्कप्रसाद आचार्य तथा कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका हुन्।

पहिलो ढुवानीमा भारतीय कन्टेनर निगम लिमिटेडको रेलमार्फत नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० उच्च क्षमताका कन्टेनर पठाइएको छ। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ।

यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकै पटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ।

सडक ढुवानीको तुलनामा रेल सेवा सुरक्षित, भरपर्दो, कम लागतको तथा छिटो हुने भएकाले आयात व्यापारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

यसअघि नेपालमा यस्तो रेल कार्गो सुविधा वीरगञ्ज भन्सारसम्म मात्र सीमित रहेकामा अब विराटनगर भन्सारमा पनि सेवा विस्तार भएसँगै पूर्वी नेपालका उद्योग तथा व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्ने भएका छन्।

प्रकाशित: १ श्रावण २०८३ १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App