डेनमार्कको आकाशमा संदिग्ध ड्रोन देखिएपछि शुक्रबार केही घण्टामा दोस्रो पटक विमानस्थल बन्द गर्नुपरेको छ। प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यसलाई रुससँग जोडिएको हुनसक्ने ‘हाइब्रिड आक्रमण’ को हिस्सा भएको चेतावनी दिइन्।
यसअघि हप्ताको सुरुमा कोपेनहेगन विमानस्थल बन्द भएपछि बुधबारदेखि डेनमार्कका विभिन्न विमानस्थलमा ड्रोन देखिएको थियो। तीमध्ये केही घण्टा पूर्ण रूपमा बन्द गर्नुपरेको थियो।
यस्तै घटना नर्वे, पोल्यान्ड र रोमानियामा पनि देखिएको छ, जसमा ड्रोन आक्रमण भएको र एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकू विमान प्रवेश गरेको जानकारी आएको छ। युक्रेनमाथि रुसको आक्रमण जारी रहेका सन्दर्भमा यी घटनाले युरोपमा तनाव बढाएको छ।
प्रधानमन्त्री फ्रेडरिक्सनले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भनिन्, ‘हालैका दिनमा डेनमार्क हाइब्रिड आक्रमणको सिकार भएको छ।’ उनले ड्रोन गतिविधि ‘बढ्न’ सक्ने चेतावनी दिइन्।
अनुसन्धानकर्ताले हालसम्म जिम्मेवार व्यक्ति पत्ता लगाउन नसके पनि फ्रेडरिक्सनले रुसलाई दोष लगाउँदै भनेकी छन्, ‘युरोपको सुरक्षामा खतरा उत्पन्न गर्ने मुख्य देश रुस हो।’
मस्कोले डेनमार्कका घटनामा संलग्न भएको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्दै यसलाई ‘मञ्चित उक्साहट’ भनेको छ।
डेनमार्कका न्यायमन्त्री पिटर हम्मेलगार्डले आक्रमणको उद्देश्य ‘डर फैलाउने, विभाजन सिर्जना गर्ने र जनता असुरक्षित महसुस गराउने’ भएको बताए।
सरकारले चाँडै ड्रोनलाई बेअसर पार्न नयाँ प्रविधि र क्षमता भित्र्याउने तयारी गरेको छ। साथै, ड्रोन विरोधी सुरक्षाको ‘पर्खाल’ निर्माण गर्ने प्रस्तावमा डेनमार्कले शुक्रबारदेखि अन्य युरोपेली सङ्घ (इयु) देशसँग छलफल सुरु गरेको छ। यसमा रुससँग सीमा जोडिएका मुलुक सामेल हुनेछन्।
बुधबार र बिहीबार बिहान अलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेसमा ड्रोन देखिएको थियो। अलबोर्ग विमानस्थल धेरै घण्टा बन्द गरिएको थियो र बिहीबार राति संदिग्ध गतिविधि देखिएपछि शुक्रबार बिहान करिब एक घण्टा पुनः बन्द गरिएको थियो।
‘दुई घण्टासम्म ठूलो क्षेत्रमा उडेको ड्रोनलाई खसाल्न सम्भव भएन,’ प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भने।
डेनमार्कको मिलिटरी इन्टेलिजेन्सका प्रमुख थोमस अह्रेन्किलले ड्रोनको पछाडि को छ भन्ने पहिचान हुन नसकेको स्वीकार गरे। तर गुप्तचर अधिकारी फिन बोर्चले भने, ‘डेनमार्कमा रुसी तोडफोडको जोखिम उच्च छ।’
रक्षामन्त्री ट्रोयल्स लुन्ड पौल्सेनले यी गतिविधि ‘एक पेशेवर खेलाडीको काम’ जस्तो देखिएको बताए। उनका अनुसार धेरै स्थानमा एकैसाथ गरिएको व्यवस्थित सञ्चालन भए पनि डेनमार्कमा प्रत्यक्ष सैन्य खतरा छैन।
प्रधानमन्त्री फ्रेडरिक्सनले यसबारे नाटो प्रमुख मार्क रुटसँग छलफल गरेको बताइन्। तर डेनमार्कले नाटोको धारा ४ (सदस्य राष्ट्रको सुरक्षा वा अखण्डता जोखिममा परे तत्काल वार्ता बोलाउने प्रावधान) लागू गर्ने कि नगर्ने भन्ने निर्णय नभएको रक्षामन्त्री पौल्सेनले स्पष्ट पारे।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो देश डेनमार्कको हवाई सुरक्षामा सहयोग गर्न तयार रहेको बताए।
आगामी हप्तामा कोपनहेगनले युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।
डेनमार्कका केही नागरिकले घटनाले असुरक्षित महसुस गराएको बताए। पचासी वर्षीया बिर्गिट लार्सनले भने, ‘म यस्तो देशमा बस्छु जहाँ सन् १९४५ यता शान्ति छ। युद्धबारे सोच्न अभ्यस्त छैन, अहिले असुरक्षित महसुस भइरहेको छ।’
तर ४८ वर्षीय टोस्र्टन फ्रोलिङले भने, ‘यो सम्भवतः रुसको काम हो। उनीहरू सीमामा परीक्षण गर्दैछन्, भड्काउने प्रयास मात्र हो, प्रत्यक्ष धम्की होइन।’
यस्तो संवेदनशील अवस्थामा डेनमार्कले हालै पहिलो पटक लामो दूरीका सटीक हतियार खरिद गर्ने घोषणा गरेको छ। रुस आउँदो वर्षमा पनि ठूलो खतरा बनेर रहने सरकारले प्रस्ट पारेको छ। एएफपी
प्रकाशित: १० आश्विन २०८२ १३:०७ शुक्रबार





