नवजात बच्चाप्रतिको अगाध ममता र गहिरो शोकका कारण एउटा डल्फिनले सबैको ध्यान खिचेको छ। अष्ट्रेलिया नजिकै हिन्द महासागर र ग्रीसको एम्ब्रेसियन खाडीमा दुई वटा आमा डल्फिनले आफ्ना मृत बच्चालाई समुद्रमा बोकेर हिँडेका दृश्य सार्वजनिक भएका छन्।
अष्ट्रेलियाली संरक्षण संस्था जियोग्राफ मरीन रिसर्चले सार्वजनिक गरेको ड्रोन फुटेज अनुसार ‘फ्रेगल’ नाम दिइएकी पोथी डल्फिनले दुई साताअघि जन्मिएको आफ्नो मृत नवजात बच्चालाई लगातार छ दिनसम्म बोकेर समुद्रमा पौडी खेलिरहेको देखिएको छ। यसअघि नै चारवटा बच्चा गुमाइसकेकी फ्रेगलको यो भावुक क्षणमा अन्य डल्फिनहरूले पनि साथ दिइरहेको दृश्य भिडियोमा कैद भएको छ।
उता पश्चिमी ग्रीसको एम्ब्रेसियन खाडीमा पनि एउटा बोटलनोज डल्फिनले आफ्नो मृत नवजात बच्चालाई छोड्न नमानी लगातार बोकेर हिँडिरहेको घटना सार्वजनिक भएको छ। समुद्री स्तनधारी संरक्षण संस्था एरियन सोसाइटीका अनुसार आमा डल्फिन आफ्नो मृत बच्चाप्रति अत्यधिक सुरक्षात्मक बनेकी छिन्।
ग्रीसको कानून अनुसार डल्फिन संरक्षित समुद्री स्तनधारी भएकाले उनीहरूको प्राकृतिक व्यवहारमा बाधा पुर्याउनु वा हस्तक्षेप गर्नु कानुनी रूपमा समेत दण्डनीय हुने भन्दै मानिस वा डुंगाको अत्यधिक नजिकको उपस्थितिलाई बन्देज गरिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार डल्फिन र ह्वेल प्रजातिमा यसरी मृत बच्चालाई दिनौँ, हप्ताौँ वा कहिलेकाहीँ महिनौँसम्म बोकेर हिँड्नु एक अत्यन्त जटिल सामाजिक तथा शोकसँग सम्बन्धित व्यवहार हो।
प्रकाशित: १९ श्रावण २०८३ १२:०६ मंगलबार





