भारतको बहराइच जिल्लास्थित रुपैडिहा सीमानाकामा सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले नेपालबाट अवैध रूपमा भारत प्रवेश गरेका दुई बेलायती नागरिक डाक्टरलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान पक्राउ परेका दुई जनामा ३५ वर्षीय हसन अमन सलीम (पाकिस्तानी मूलका) र ६१ वर्षीया सुमित्रा शकील ओलिभिया (भारतीय मूलकी, कर्नाटक उडुपीकी) रहेका छन्।
दुवैसँग भारतको वैध भिसा थिएन। उनीहरूले आफूहरू डाक्टर भएको बताए। नेपालगञ्जको अस्पतालबाट फोन आएर आएको बताए पनि भारत प्रवेशको कारणबारे स्पष्ट जवाफ दिन सकेनन्। दिल्लीमा हालै भएको विस्फोटलाई ध्यानमा राखेर भारतले सीमा क्षेत्रमा कडा निगरानी गरिरहेको छ।
दुवै जनाविरुद्ध राहदानी ऐन–१९६७ को दफा १४ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई अदालतमा पेश गरिएको र थप अनुसन्धान भइरहेको बहराइचका प्रहरी अधीक्षक रामनयन सिंहले जानकारी दिए। एजेन्सी
प्रकाशित: ३० कार्तिक २०८२ १२:५२ आइतबार





