तीव्र सौर्य विकिरणले उडान नियन्त्रणका लागि महत्त्वपूर्ण डेटा भ्रष्ट पार्न सक्ने चिन्ता व्यक्त गर्दै विमान निर्माता एयरबसले आफ्ना हजारौं विमानहरूका लागि सफ्टवेयर अपडेटको घोषणा गरेको छ।
यसले विश्वभरका करिब छ हजार विमानहरूलाई असर गर्नसक्ने बताइएको छ।
अमेरिकन एयरलाइन्स, डेल्टा, एयर इन्डिया र विज जस्ता विश्वभरका धेरै एयरलाइन्सहरूले यस सफ्टवेयर अपडेटबाट आफ्ना सेवाहरू प्रभावित भएको बताएका छन्।
एयरबसको निर्देशन अनुसार एयर इन्डियाले "तालिकाबद्ध सञ्चालनमा ढिलाइ" सम्बन्धी ट्राभल एडबाइजरी जारी गरेको छ।
एयर इन्डियाले एक्समा पोस्ट गर्दै भनेको छ, 'हामीलाई एयरलाइन अपरेटरहरूसँग हाल सेवामा रहेको ए३२० फेमिली एयरक्राफ़्टसँग सम्बन्धित एयरबस निर्देशनको बारेमा थाहा छ। यसले हाम्रो फ्लीटको एक भागमा सफ्टवेयर/हार्डवेयर पुन: संरेखणमा परिणाम दिनेछ, जसले गर्दा टर्नअराउन्ड समय लामो हुनेछ र हाम्रो निर्धारित सञ्चालनमा ढिलाइ हुनेछ।'
इन्डिगोले एक्समा पोस्ट गर्यो, 'एयरबसले विश्वव्यापी ए३२० फ्लीटको लागि टेक्निकल एडवाइजरी जारी गरेको छ। हामी सबै सुरक्षा प्रोटोकलहरू अनुसार हाम्रो विमानमा आवश्यक अद्यावधिकहरू लगनशीलता र सावधानीपूर्वक पूरा गरिरहेका छौं।'
इन्डिगोले केही उडानहरूको तालिकामा सामान्य परिवर्तनको घोषणा गरेको छ र यात्रुहरूलाई विमानस्थल पुग्नुअघि एयरलाइन्सको एप वा वेबसाइटमा उडान स्थिति जाँच गर्न अनुरोध गरेको छ।
एयरलाइन्सले यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको स्थिति जाँच गर्न र सहयोगको लागि ०११-६९३२९३३३, ०११-६९३२९९९९ मा सम्पर्क गर्न आग्रह गरेको छ।
यसैबीच, इजीजेटले आवश्यक सफ्टवेयर अपडेट गरेको र शनिबार आफ्ना सबै उडानहरू सामान्य रूपमा सञ्चालन गर्ने योजना बनाएको बताएको छ।
लन्डनको हिथ्रो विमानस्थलले आफ्नो उडान सञ्चालन प्रभावित नहुने बताएको छ भने ग्याटविकले केही समस्या भएको आशंका गरेको छ।
बेलायती यातायात मन्त्री हेइडी अलेक्ज्याण्डरले बेलायती एयरलाइन्समा यसको प्रभाव सीमित देखिएको बताइन्। उनले यात्रुहरूलाई थप जानकारीका लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्।
प्रकाशित: १३ मंसिर २०८२ १२:०२ शनिबार





