१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिड्नी गोलीबारीका ‘साहसी’ नायक अहमद : आफ्नो ज्यान ‘दाउ’मा राखेर धेरैलाई बचाए

अस्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बिचमा यहुदीहरूको हनुक्का उत्सवको पहिलो दिन भएको आतंकवादी गोलीबारीमा कम्तीमा १५–१६ जनाले ज्यान गुमाएका छन्। सोही घटनामा एक साहसी व्यक्तिले बन्दुकधारीलाई निःशस्त्र पारेको नाटकीय दृश्य अहिले विश्वभर चर्चामा छ। यो घटनामा ४० भन्दा बढी घाइते भएका छन्।

बन्दुकधारीबाट हतियार खोसेर धेरैलाई बचाउने ४३ वर्षीय अहमद अल अहमद फलफूल पसल सञ्चालक हुन्। उनी दुई साना छोरीका बुबा पनि हुन्। भिडियो फुटेजमा उनी पार्किङमा लुकेर बन्दुकधारी साजिद अक्रममाथि पछाडिबाट आक्रमण गरेको देखिन्छ। उनले साजिदको घाँटी समाते, खुट्टामा घुँडा थिचेर असन्तुलित बनाए र हतियार खोसे। 

त्यसपछि हतियार खोसेका उनले साजिदतर्फ सोझ्याए। त्यस क्रममा पुलबाट गोली चलाउने दोस्रो बन्दुकधारी नावेद अक्रमले उनलाई गोली हाने, जसले उनको हात र पाखुरामा चोट लाग्यो। अहमदलाई दुईदेखि पाँच पटकसम्म गोली लागेको परिवारले बताएको छ। उनी शल्यक्रिया गरेर अस्पतालमा स्वास्थ्य लाभ गर्दै छन्।

भिडियोमा अहमदले हतियार खोसेपछि साजिद भुईँमा लडेको र अर्का एक व्यक्तिले पनि मद्दत गर्न खोज्दा केही वस्तु फ्याँकेको देखिन्छ। अहमदले हतियार रूखमा राखेर हात उठाएका थिए, जसले प्रहरीलाई खतरा नभएको संकेत गरेको थियो। फुटेज रेकर्ड गर्ने व्यक्ति ‘हे भगवान्’ भनेर चिच्याएको सुनिन्छ।

प्रहरीले दुवै बन्दुकधारी बुबा–छोरा भएको जानकारी दिएको छ। ५० वर्षीय साजिद अक्रम प्रहरीको गोली लागेर घटनास्थलमै मारिए भने २४ वर्षीय नावेद अक्रम घाइते भई प्रहरी निगरानीमा अस्पतालमा छन्। उनीहरूको गाडीमा इस्लामिक स्टेटको झण्डा र इम्प्रोभाइज्ड विस्फोटक यन्त्रहरू भेटिएको छ। नावेदलाई सन् २०१९ मा अस्ट्रेलियाली गुप्तचर एजेन्सी एएसआईओले जाँच गरेको थियो।

न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले यो दृश्य ‘मैले देखेको सबैभन्दा अविश्वसनीय’ भनेका छन्। ‘त्यो मान्छे साँच्चै नायक हो, उनको बहादुरीले धेरैको ज्यान बचाएको छ।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अहमदको बहादुरीको प्रशंसा गरेका छन्। उनले एक भिडियो सन्देशमा अहमदलाई बहादुर भनेका छन्।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजीले घटनालाई यहुदी समुदायमाथिको आक्रमण भनेका छन्। ‘यो देशमा घृणा, हिंसा र आतंकवादका लागि कुनै ठाउँ छैन,’ उनले भने, ‘हामी यसलाई उन्मूलन गर्नेछौं।’ उनले आफ्नो ज्यान दाउमा राखेर मद्दत गर्ने अहमदसहित सबै नागरिकलाई नायक भनेका छन्। ‘अस्ट्रेलियालीहरूले अरूलाई मद्दत गर्न खतरातिर दौडिएको देख्यौं।’

अहमदको बहादुरीको विश्वभर प्रशंसा भइरहेको छ। उनी बन्दुक चलाउन जान्ने व्यक्ति होइनन्। तर घटनास्थल नजिकै हुँदा आक्रमण देखेपछि ज्यान जोखिममा राखेर अगाडि बढेका थिए। एजेन्सीहरूको सहयोगमा

प्रकाशित: २९ मंसिर २०८२ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App