५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

भारतमा १२२ वर्षयताकै उच्चतम सरदर तापक्रम

भारत र पाकिस्तानका कतिपय स्थानमा तापक्रमले रेकर्ड तोड्दा लाखौं मानिसको जीवन जोखिममा परेको छ। जलवायु परिवर्तनको प्रभाव भारतीय उपमहाद्वीपमा प्रत्यक्ष अनुभव गर्न थालिएको छ। गत अप्रिलमा उत्तर पश्चिम र मध्य भारतमा सरदर उच्चतम तापक्रम क्रमशः ३५.९ र ३७.८ डिग्री सेन्टिग्रेड पुगेको छ। भारतमा १२२ वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयता यो नै उच्चतम सरदर तापक्रम हो।

भारतको मौसम विभागका अनुसार गत महिना नयाँ दिल्लीको तापक्रम लगातार सात दिन ४० डिग्री सेन्टिग्रेडमाथि थियो। यो अप्रिलको सरदर उच्चतम तापक्रमभन्दा ३ डिग्रीले बढी हो। भारतका कतिपय राज्यमा गर्मीका कारण विद्यालय बन्द भएका छन् भने बालीनालीसमेत नराम्ररी प्रभावित भएको छ। यसैगरी विद्युत् आपूर्तिमा थप दबाब सिर्जना हुँदा सर्वसाधारणलाई घरभित्रै बस्न र पानी पिइरहन सरकारी अधिकारीहरूले अनुरोध गरेका छन्।

तातो हावाको यो कहरले छिमेकी पाकिस्तानलाई समेत छोएको छ। पाकिस्तानको सिन्ध प्रान्तका जाकोबाबाद र सिबी सहरमा गत शुक्रबार तापक्रम ४७ डिग्री सेन्टिग्रेड पुगेको त्यहाँको मौसम विभागले जनाएको छ। विभागका अनुसार पृथ्वीको उत्तरी गोलाद्र्धका सहरहरूमा रेकर्ड भएको तापक्रमको तुलनामा यी पाकिस्तानी सहरमा सो दिन रेकर्ड भएको तापक्रम सर्वाधिक हो। ‘कैयौं दशकयता पाकिस्तानमा पहिलोपटक तापक्रम यति धैरै स्तरमा बढेको छ। कतिपयले यो वर्षलाई वसन्त ऋतुविहीन वर्ष भनेका छन्,’ पाकिस्तानका जलवायु परिवर्तन मन्त्री सेरी रहमानले एक वक्तव्यमा भनेका छन्।

उता भारतमा यो सातादेखि तापक्रम घट्ने मौसम विभागले जनाएको छ तर जलवायु विज्ञले जलवायु संकटका कारण भारतीय उपमहाद्वीपमा धेरै समय र बारम्बार तातो हावा चल्ने चेतावनी दिएका छन्। यसले दुई देशका अर्बौं मानिस प्रभावित हुने उनीहरूको दाबी छ। जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी निकाय (आइपिसिसी) का अनुसार जलवायु संकटले सबैभन्दा बढी प्रभावित हुने देशमा भारत पर्छ। ‘इतिहासमै पहिलोपटक तातो हावाको प्रभाव देखिएको छ। तीव्रता, आउने समय र रहने अवधिको हिसाबमा यसपटक तातो हावाको फरक प्रकृति देखिएको छ। यसले मानव स्वास्थ्यलाई समेत विभिन्न प्रभाव पार्नेछ,’ आइपिसिसीकी प्रमुख लेखक तथा इन्डियन इन्स्टिच्युट अफ ह्युमन सेटलमेन्ट्सकी वरिष्ठ अनुसन्धानकर्ता डा. चाँदनी सिंहले भनेकी छन्।

बालीनालीमा ह्रास

यसअघि मे र जुनमा तातो हावाको प्रभाव तीव्र हुने गरेकोमा यो वर्ष मार्च र अप्रिलमा तापक्रम उकालो लागेको छ। भारतको उत्तर राज्य पन्जाबमा तापक्रम बढ्दा त्यहाँका लाखौं कृषि कामदार मात्र होइन, गहुँ बालीसमेत प्रभावित भएको छ। पन्जाबका कृषि विभागका निर्देशक गुरभिन्दर सिंहले गत अप्रिलमा सरदरमा ७ डिग्रीले तापक्रम बढ्दा गहुँको उत्पादन घटेको छ। ‘तातो हावाका कारण अप्रिलमा प्रतिहेक्टरमा ५०० किलो गहँुको उत्पादन घटेको छ,’ सिंहले सोमबार सिएनएनलाई बताए।

आइपिसिसीकी चाँदनी सिंह तातो हावाले कृषि कामदार सबैभन्दा बढी प्रभावित हुने तर्क गर्छिन्। ‘विकल्पको अभाव हुँदा घरबाहिर काम गर्ने सबै खाले कामदार सबैभन्दा बढी प्रभावित देखिएका छन्,’ उनी भन्छिन्।

विद्यालय बन्द र विद्युत् अभाव

भारतका कतिपय स्थानमा दिनको नौ घन्टासम्म विद्युत्को अभाव सिर्जना भएको छ। गत साता दिल्लीका पाँचमध्ये तीनवटा विद्युत् उत्पादन गृहमा कोइलाको अभाव देखिएका कारण विद्युत् आपूर्ति २५ प्रतिशतभन्दा कम स्तरमा ओर्लेको थियो।

विद्युत् गृहमा कोइलाको अभाव रहेकाले यसको आपूर्ति सुनिश्चित गर्न कार्गाे रेल चलाउनुपर्ने बताउँदै भारतले मे अन्त्यसम्म ६५० वटा यात्रु रेल सञ्चालन रद्द गरेको छ। विद्युत् उत्पादन गृहमा आवश्यक कोइला आपूर्तिका लागि भारतीय रेलवेज सेवाको महत्वपूर्ण भूमिका छ। उता पश्चिम बंगाल र ओडिसालगायत केही भारतीय राज्यले चर्काे गर्मीका कारण विद्यालय बन्द गरेका छन्।

‘चर्काे गर्मीका कारण विद्यार्थीको नाकबाट रगत बग्ने समस्या देखिएको छ,’ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गत साता सञ्चारमाध्यमलाई भनेकी थिइन्। पछिल्ला वर्षहरूमा भारतको केन्द्र तथा राज्य सरकारले चर्काे गर्मीबाट बच्न विद्यालय बन्द गर्ने तथा सर्वसाधारणलाई सतर्क हुन अपिल गर्दै आएका छन्। आइपिसिसीकी चाँदनी सिंह यो समस्यालाई सम्बोधन गर्न थप तयारी आवश्यक रहेको ठान्छिन्। ‘हामीसँग सही कार्ययोजना छैन। तातो हावाले मानिस बाँच्न सक्ने क्षमताको परीक्षण गरिरहेको छ,’ उनले भनिन्।

प्रकाशित: २० वैशाख २०७९ ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App