१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढीमा ४३ अस्ट्रेलियाली सम्पर्कविहीन, परिवार चमत्कारको आशामा

तस्बिर : एबीसी अस्ट्रेलिया

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाल-चीन सीमा क्षेत्रमा रहेका ४३ अस्ट्रेलियाली अझै सम्पर्कविहीन छन्। 

उनीहरूका परिवार आफन्तको अवस्थाबारे जानकारी पाउने आशामा छन्। गत बुधबार आएको बाढीले नेपाल-चीन सीमामा रहेको गाइरोङ बन्दरगाहसहित आसपासका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको थियो। बाढीपछि उक्त क्षेत्रमा रहेका विदेशी पर्यटक तथा तीर्थयात्रीसमेत सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन हुनेमा सनसाइन कोस्टकी दुई सन्तानकी आमा रेनी स्प्री पनि छन्। ५० वर्षको दशकमा रहेकी स्प्री कैलाश पर्वतको तीर्थयात्रा सकेर घर फर्कने क्रममा गाइरोङ बन्दरगाह पुगेकी थिइन्। बाढी आउनुभन्दा करिब १० मिनेटअघि उनी उक्त क्षेत्रमा पुगेकी थिइन्।

रेनीकी बहिनी क्लेयर स्प्रीले सामाजिक सञ्जालमार्फत आफ्नी बहिनीको खोजीका लागि अपिल गरेकी छन्। ‘विनाशकारी घटनापछि हाम्रो प्यारी बहिनी रेनी अझै पनि चीन-नेपाल सीमाबाट सम्पर्कविहीन छिन्,’ उनले लेखेकी छन्। रेनीका श्रीमान् पनि श्रीमतीको खोजीमा सहयोग गर्न नेपाल आउने प्रयास गरिरहेका छन्।

सम्पर्कविहीन हुनेमा मेलबर्नकी ३९ वर्षीया सिद्धार्थ कुमारी साहु र उनका ४३ वर्षीय श्रीमान् सन्दीप महापात्रा पनि छन्। उनीहरू वान्टीर्ना साउथमा बस्दै आएका थिए। सिद्धार्थ र सन्दीप अन्य अस्ट्रेलियालीसँगै कैलाश जर्नीजको तीर्थयात्रा समूहमा सहभागी थिए। उनीहरूकी नजिककी साथी रुबिला रथले दुवै जना सकुशल भेटिने आशा अझै रहेको बताइन्।

‘उनीहरू सुन्दर आत्मा थिए र हामी उनीहरूलाई फिर्ता चाहन्छौँ,’ रथले भनिन्। ‘उनी मेरो लागि बहिनी जस्तै थिइन् र उनी मेरो भिनाजु जस्तै थिए। म आशा गर्छु, हामी उनीहरू दुवैलाई चाँडै फेरि भेट्नेछौँ,’ उनले भनिन्।

सिड्नीमा आइटी क्षेत्रमा काम गर्ने ४५ वर्षीय गोपी कृष्ण नायडू अगस्त्य पनि सम्पर्कविहीन छन्। उनका साथी पवन कुरुचेतीका अनुसार बाढी आउँदा अगस्त्य गाइरोङ सीमा नाकामा रहेको अध्यागमन भवनमा थिए। अगस्त्य कैलाश पर्वतको तीर्थयात्राका लागि ईशा फाउन्डेसनसँग यात्रा गर्ने अस्ट्रेलियाली समूहका सदस्य थिए।

एबीसी अस्ट्रेलियाका अनुसार सम्पर्कविहीन ४३ अस्ट्रेलियालीमध्ये धेरैजसो कैलाश पर्वतको तीर्थयात्राका लागि नेपाल हुँदै तिब्बततर्फ गएका थिए। कैलाश पर्वतलाई हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीले पवित्र स्थल मान्ने गर्छन्।

भोटेकोशी बाढीको असर अस्ट्रेलियामा रहेका नेपाली समुदायमा पनि परेको छ। एलिस स्प्रिंग्सको दक्षिण-पूर्वमा रहेको शान्ता टेरेसाका मधु पन्थीका अनुसार मध्य अस्ट्रेलियामा रहेका चारदेखि पाँच जना नेपाली परिवार यस विपत्तिबाट प्रभावित भएका छन्।

पन्थीका एक नजिकका साथी पनि नेपालमा सम्पर्कविहीन छन्। बाढी आउनुभन्दा केही समय अघिसम्म उनीसँग सम्पर्क भएको तर त्यसपछि कुनै खबर नआएको पन्थीले बताए।

‘बाढी आउनुभन्दा दुई घण्टा अघिसम्म उहाँ जीवित हुनुहुन्थ्यो। त्यसपछि हामीले कुनै सन्देश पाएका छैनौँ,’ उनले भने। सम्पर्कविहीन मानिसहरू सकुशल भेटिने आशा अझै रहेको उनले बताए। ‘हामीले चमत्कार भएका धेरै कथा सुनेका छौँ। म पनि चमत्कारको पर्खाइमा छु,’ उनले भने।

अस्ट्रेलियामा रहेका नेपाली समुदायका केही सदस्यले प्रभावित परिवारलाई सहयोग गर्ने तयारीसमेत गरिरहेका छन्। केहीले तत्काल सहयोग गर्ने र केहीले नेपालमा प्रभावित परिवारका लागि रकम संकलन गर्ने योजना बनाएका छन्।

यसैबिच, अस्ट्रेलियाले नेपालका लागि मानवीय सहायता बढाएर ८० लाख अस्ट्रेलियाली डलर पुर्‍याउने घोषणा गरेको छ। अस्ट्रेलियाका सहायक विदेशमन्त्री म्याट थिस्टलवेटका अनुसार उक्त रकम स्वच्छता किट, सौर्य बत्ती लगायतका आवश्यक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ।

‘क्षेत्रका मानिसहरूलाई यी किट र सौर्य बत्तीको अत्यन्त आवश्यकता छ,’ उनले भने। बाढीका कारण विद्युत् र दूरसञ्चार पूर्वाधारमा ठुलो क्षति पुगेको उनले बताए। अस्ट्रेलियाली रक्षा बलले आगामी दिनमा आवश्यक सामग्री नेपाल पुर्‍याउने तयारी गरेको छ।

प्रकाशित: १६ भाद्र २०८३ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App