जापानको यावाता सहरकी मेयर शोको कावाता टाइम म्यागजिनको सन् २०२६ को ‘टाइम१०० नेक्स्ट’ सूचीमा परेकी छन्।
विभिन्न क्षेत्रमा भविष्यमा प्रभाव पार्न सक्ने १०० उदाउँदा व्यक्तिलाई समेट्ने सूचीमा ३६ वर्षीया कावाता पनि समावेश भएकी हुन्। उनी जापानमा पदमै रहँदा प्रसूति बिदा लिने पहिलो मेयर हुन्।
सन् २०२३ मा ३३ वर्षको उमेरमा मेयर निर्वाचित हुँदा उनी जापानकै सबैभन्दा कम उमेरकी महिला मेयर बनेकी थिइन्। यस वर्ष प्रसूति बिदा लिने उनको निर्णयले निर्वाचित जनप्रतिनिधिले बच्चा जन्माउन बिदा लिन पाउने कि नपाउने भन्ने विषयमा जापानमा बहस भएको थियो।
जापानमा कर्मचारीका लागि प्रसूति बिदाको व्यवस्था भए पनि निर्वाचित मेयरका लागि स्पष्ट कानुनी व्यवस्था छैन। त्यसैले कावाताले सहरका अधिकारीसँग समन्वय गरेर १६ साताको बिदाको व्यवस्था मिलाएकी थिइन्। यस अवधिमा दैनिक जिम्मेवारी उपमेयर शिगेतो नोजले सम्हालेका छन्। कावाता सम्भव भएसम्म अनलाइनबाट काममा सहभागी हुँदै आएकी छन्।
सेप्टेम्बर १५ मा उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन्। उनको बिदा नोभेम्बर ८ सम्म रहने बताइएको छ। प्रसूति बिदाको निर्णयलाई लिएर केहीले आलोचना गरे पनि धेरैले महिलालाई परिवार र करियर सँगसँगै अघि बढाउन सहज हुने व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन्।
टाइमले कावाताको प्रसूति बिदासँगै उनको नीतिगत कामको पनि चर्चा गरेको छ। उनको नेतृत्वमा यावाता सहरमा विद्यालयको खाजाको मूल्य घटाउने, प्रिस्कुलमा निःशुल्क डायपर उपलब्ध गराउने र सुत्केरीपछिको हेरचाह सेवा विस्तार गर्ने काम अघि बढाइएको उल्लेख छ।
कावाताले यसअघि राजनीतिज्ञले मातृत्व बिदा लिएको भन्दै आलोचना गर्नु भनेको गर्भवती हुन सक्ने २० देखि ४० वर्ष उमेरका महिलालाई सार्वजनिक पदबाट टाढा राख्नुसरह हुने बताएकी थिइन्।
छोरी जन्मिएपछि एक्समा तस्बिर सार्वजनिक गर्दै उनले अभिभावक बनेपछि आफूले भोग्ने अनुभवलाई आगामी नीतिमा समेट्ने बताएकी छन्।
प्रकाशित: १७ आश्विन २०८३ १९:४२ शनिबार





