१७ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ!

मुक्तक

१) मुक्तक

बाल्यकालमा अभावको शहरको ग्याँस जस्तो

उमेरमा जिन्दगी कलियुगको क्यास जस्तो

जीवन उमेरअनुसार भिन्न नै हुने रहेछ

बुढेसकालको जिन्दगी जुठेल्नाको झ्यास जस्तो।

२) मुक्तक

विपत्तिमा साथै हुने सच्चा आफ्नो मान्छे हुन्छ

सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ

जन्म अनि सम्बन्धले मात्रै आफ्नो हुन्न कोही

मर्दा खालि लास छुने कहाँ आफ्नो मान्छे हुन्छ?

३) मुक्तक

सामन्ती सरकार ढालेकै हो

राजतन्त्र पनि फालेकै हो

कसरी बिर्सूं योगदान सहिद

निभेका चुल्हा बालेकै हो।

४) मुक्तक

जान्ने बुझ्ने आफैं ठानेँ गल्ती मेरै भयो

फाल्नेलाई राख्न छानेँ गल्ती मेरै भयो

बुझे पनि बुझपचाएँ तिम्रो नशा लाग्दा

तिम्रो बाटो मेरो ठानेँ गल्ती मेरै भयो।

५) मुक्तक

काम गर्दा कसैलाई छल्नु राम्रो होइन

अर्काको नै इसारामा चल्नु राम्रो होइन

स्वाभिमानमा बाँचेर महान बन्नु छ भने

स्वार्थी बनी अर्काको पाउ मल्नु राम्रो होइन।

६) मुक्तक

घर बसेको पाटो बग्यो

हिँडिरहेको बाटो बग्यो

अब बाँच्ने आधारै हट्यो

टेकेको सबै माटो बग्यो।

७) मुक्तक

धेरैको बाँच्ने घट्दै छ आश

दिनहुँ धेरै बढ्दै छन् त्रास

बगर खोस्रेर कति दिन बाँच्नु

भेट्छु कि भन्दै आफ्नाको लास।

८) मुक्तक

मान्छेले खुट्टाले डहर बनायो

बलले भ्याएसम्म शहर बनायो

मान्छेको सयौं वर्षको संरचना

नदीले क्षणभरमै बगर बनायो।

९) मुक्तक

कसैको ज्यान समाप्त भो दलदलमा चोपिएर

नउम्रिने बिउसरी माटोभित्र‌ै रोपिएर

कर्कलाको पानी जस्तो जीवन भन्थे सत्य रैछ

समाप्त भोक्वै बगेरक्वै माटोमा छोपिएर।

१०) मुक्तक

प्रकृतिबाटै संरचना र खेतबारी हरिन्छ

आफन्तबाटै श्रम र सहकारी हरिन्छ

गर्ने र हर्ने एकै रथका यात्री भएपछि

गर्नेको न त पेट न भकारी भरिन्छ।

प्रकाशित: १७ आश्विन २०८३ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App