सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्!
आपदविपद् परेपछि खराब पनि जाती हुन्छ, क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ। सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्, विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।

आपदविपद् परेपछि खराब पनि जाती हुन्छ, क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ। सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्, विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।
प्रलोभन देखाई मनमुटु छाम्यौ, बगेका यी आँसु आफैंले थाम्यौ। साँढेलाई जस्तै बिटुलो पार्न, सिन्दूर पोतेले के कारण डाम्यौ?
ढाकर बोकी सामान खेप्न शहर जाने मेरा बा हुन्, सन्तानलाई दूधघ्यू खुवाएर मोही खाने मेरा बा हुन्। छाेराछोरी पढाईबढाई शहर बस्ने बनाएर, गाउँमै बसी घिउ मह सहर लाने मेरा बा हुन्।
देश बनाउने आँट भएका देशकै चिन्ता गर्छन्, समाज, भाषा, शिक्षाप्रेमी त्यसकै चिन्ता गर्छन्। सिर्जना र परहितमा चाहन्नन् जो लाग्न, आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्।
देशमा राम्रा नियमकानुन बन्लान् शान्ति मिल्ला भन्थ्यौं, संसद् भवन वाकयुद्ध र घोचपेच गर्ने अखडा भो।
पानी पर्दा बाढी आउँदा पहिरोमा झुप्रा पर्छन्, हुरी बतास चल्दा चित्रा र खर स्याउलाका छाना झर्छन्। नियति र प्रकृतिले दुखीलाई हेप्छ सधैं, ग्वालाहरू निस्तै खान्छन् किसानहरू भोकै मर्छन्।
कडाले नै नरमलाई तेल निकाल्न पेल्छ, गुण तिर्न मौका परे भिरबाटै धकेल्छ। अर्कालाई दुख दिने मानव धर्म सोची, रगतमा होली पसिनामा पौडी खेल्छ।
भात खुवाउँछिन् लुगा धुन्छिन् माया गरे जस्तै लाग्छ, हिँड्छु बाटो हेर्दै रुन्छिन् माया गरे जस्तै लाग्छ। मेरो कुरा बोझिला र अरूका चैँ सत्य ठान्दै, धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ।
बाहुलाले सिँगान पुछ्दा ठिकै जस्तो लाग्थ्यो, फोहोर हातले खाना मुछ्दा ठिकै जस्तो लाग्थ्यो। लाज डर ईर्ष्या रिस घिन बाल्यकालमा शून्य थिए, कन्सिरी कान सरले लुछ्दा ठिकै जस्तो लाग्थ्यो।
शब्दकोश नै गलत पार्ने नेपालमै छन् अनेक थरी, छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी।
नयाँ सरकार मात्रै होइन पुरानामै पनि थियो,रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ।
वर्षैपिच्छे आयु घट्दा शुभकामना रे, भोगेको साल डाँडा कट्दा शुभकामना रे। देखासिकी गर्दा अनि आडम्बरी बन्दा, थाप्लाभरि ऋण चढ्दा शुभकामना रे।
झिसमिसेमा मलाई छोडी एक्लै कता हिन्थ्यौ आमा, आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा।
मिलेर बस्न दम्पती सकिन्न खै कुनै दिन, अचम्म लाग्छ सम्झिँदा सुहागरातका कुरा।
दर्शन विचार एकातिर गर्ने कुरा अर्को हुन्छ, बोल्न जति सजिलो छ गर्न त्यति झर्को हुन्छ। जन्म मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन, भन्ने ठूला दार्शनिक नि नाङ्गै हिंड्न चर्को हुन्छ।
