१८ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चार सन्तानकी आमा शिवोनले किन टुंगाइन् मस्कसँगको सम्बन्ध ?

अमेरिकी अर्बपति एलन मस्कसँग लामो समयदेखि सम्बन्धमा रहेकी शिवोन जिलिसले आफूहरूको सम्बन्ध टुंगिएको घोषणा गरेकी छन्।

मस्कका चार सन्तानकी आमा जिलिसले शुक्रबार एक्समा लामो पोस्ट गर्दै सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन्। जिलिसले सम्बन्ध अचानक टुंगिएको संकेत गरेकी छन्। ‘प्रेममा रहेको अवस्थाबाट एक सातामै बिना कुनै चेतावनी छुट्टिन गाह्रो हुन्छ, तर कहिलेकाहीँ यस्तै हुन्छ,’ उनले लेखेकी छन्।

उनले मस्कसँगको सम्बन्ध र परिवारप्रति आफू खुसी रहेको बताइन्। चार सन्तान पाउनु आफ्नो जीवनको ठुलो खुसी भएको उल्लेख गर्दै उनले मस्कलाई आफूले शान्त र मायालु वातावरण दिन सकेको बताएकी छन्। ‘म दुखी छु, तर एलनको धेरै ख्याल गर्छु र सधैँ उनको खुसीमा म पनि खुसी हुनेछु। म उनलाई धेरै सम्झनेछु,’ उनले थप लेखेकी छन्।

जिलिसले आफू र मस्क आगामी दिनमा असल साथी र सह-अभिभावक बन्न सक्ने आशा पनि व्यक्त गरेकी छन्। उनीहरूका चार सन्तान छन्। जुम्ल्याहा सन् २०२१ मा, तेस्रो सन्तान सन् २०२४ मा र चौथो सन्तान सन् २०२५ मा जन्मिएका थिए।

जिलिस अहिले मस्कको प्रविधि कम्पनी न्यूरालिंकमा कार्यरत छिन्। उनले यसअघि मस्कको कार कम्पनी टेस्लामा पनि काम गरेकी थिइन्। उनी र मस्कको सम्बन्ध लामो समयसम्म सार्वजनिक रूपमा धेरै चर्चामा आएको थिएन।

सम्बन्ध टुंगिएको घोषणा गर्दै जिलिसले सेप्टेम्बर २४ मा मस्कसँग भएको टेक्स्ट सन्देशको स्क्रिनसट पनि सार्वजनिक गरेकी छन्। त्यसमा जिलिसले मस्कलाई ‘तपाईंलाई ब्रेकफास्टमा देख्न पाउनु निकै राम्रो भयो। तपाईंलाई धेरै माया गर्छु’ भन्दै सन्देश पठाएकी थिइन्। मस्कले जवाफमा ‘तिमीलाई पनि धेरै माया गर्छु’ लेखेका थिए।

यस वर्ष भएको ओपनएआईसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जिलिसले मस्कसँगको आफ्नो सम्बन्धबारे पनि बयान दिएकी थिइन्। मस्कले भने अहिलेसम्म सम्बन्ध टुंगिएको विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: १७ आश्विन २०८३ १९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App