नेपाली कांग्रेस स्थापनाको आठ दशकमा १४ वटा महाधिवेशन भएका छन्। त्यस क्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म १० जना नेता नेतृत्वमा आएका छन्।
महामन्त्रीको जिम्मेवारीमा २८ जना पुगेका छन्। पार्टी स्थापनाको ८० वर्षमा कांग्रेसको नेतृत्व अहिलेसम्म बाहुन-क्षेत्रीभन्दा बाहिर जान सकेको छैन। अझै केही वर्ष कांग्रेसको नेतृत्व त्यसकै सेरोफेरोमा घुम्ने देखिन्छ।
पहिलो महाधिवेशन: २००३ माघ १२ र १३ गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो। त्यसै सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रूपमा लिने गरिन्छ। उक्त सम्मेलनले सर्वसम्मतिमा नै टंकप्रसाद आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो। आचार्य नेपाल प्रजापरिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति बनेका थिए। विश्वेश्वरप्रसाद कोइराला उक्त कार्यसमितिको कार्यवाहक सभापति बने।
दोस्रो महाधिवेशन: २००३ फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुर हडताल भएको थियो। हडतालको नेतृत्व गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए। उक्त मजदुर आन्दोलनको नेतृत्व गर्न बिपी कोइराला विराटनगर पुगेका थिए। फागुन २६ मा उनी पक्राउ परे। बिपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न २००३ चैत २७ र २८ मा जोगबनीमा पार्टी प्रतिनिधिहरूको सम्मेलन बोलाइयो। उक्त सम्मेलनमा कार्यकारी सभापतिका रूपमा मातृकाप्रसाद कोइरालालाई चयन गरिएको थियो।
तेस्रो महाधिवेशन: २००५ फागुन १८ मा दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसले तेस्रो वार्षिक अधिवेशन गर्यो। मातृकाप्रसाद कोइरालालाई नै सभापति बनाइयो। सभापतिका आकांक्षीमा गोपालप्रसाद भट्टराई पनि थिए।
चौथो महाधिवेशन: २००६ चैत २७ मा भएको चौथो महाधिवेशन भारतमा भएको थियो। कोलकाताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरिएको थियो। सोही सम्मेलनले दलकानाम ‘नेपाली कांग्रेस’ राखेको थियो भने मातृकाप्रसाद कोइराला सभापति बनेका थिए।
पाँचौं महाधिवेशन: २००९ जेठ १० देखि १२ सम्म पाँचौं महाधिवेशन जनकपुरमा भएको थियो। विवाद र तनावका बिच भएको मतदानमा सभापतिमा बिपी नै विजयी भए।
छैटौं महाधिवेशन: २०१२ माघमा कांग्रेसको छैटौं महाधिवेशन वीरगन्जमा भएको थियो। गणेशमान सिंहलाई पराजित गर्दै सुवर्णशमशेर राणा सभापतिमा चयन भएका थिए। २०१४ जेठमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विराटनगरमा भएको विशेष महाधिवेशनबाट बिपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बनेका थिए।
सातौं महाधिवेशन: काठमाडौंको महाराजगन्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाखमा सातौं महाधिवेशन गरिएको थियो।
बिपीसँग भूदेव राईले नेतृत्वमा पुग्न प्रतिस्पर्धा गरेका थिए। बिपी नै सभापतिमा निर्वाचित भए। महाधिवेशन भएको आठ महिनामै अर्को महाधिवेशन गर्नुपरेको थियो। २०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेपछि प्रधानमन्त्री तथा पार्टी सभापति बिपीसहितका नेतालाई जेल हाले।
भारत भ्रमणमा रहेका जेलबाहिर रहेका सुवर्ण शमशेरले सोही वर्षको माघमा भारतको पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन बोलाए। त्यही सम्मेलनले उनलाई कार्यवाहक सभापति पनि चयन गर्यो। २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो। रिहा भएका बिपीले कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिएका थिए।
आठौं महाधिवेशन: बहुदलीय व्यवस्था लागु भएपछि २०४८ फागुनमा झापाको कलभडगुडीमा आठौं महाधिवेशन भएको थियो। उक्त महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध भएका थिए।
नवौं महाधिवेशन: २०५३ वैशाखमा कांग्रेसको नवौं महाधिवेशन काठमाडौंमा भएको थियो। चिरञ्जीवी वाग्ले र रामहरि जोशीलाई पछि पार्दै गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भएका थिए तर त्यस महाधिवेशनमा नेता गणेशमान सिंह सहभागी भएनन्।
दसौं महाधिवेशन: २०५७ माघमा कांग्रेसको दसौं महाधिवेशन पोखरामा भयो। गिरिजाप्रसादसँग शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिए तर गिरिजाप्रसाद नै निर्वाचित भए। २०५९ सालमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बन्यो।
एघारौंं महाधिवेशन: एघारौंं महाधिवेशन विभाजित अवस्थामा दुई कांग्रेसको अलगअलग भयो। २०६२ भदौमा सानेपामा भएको महाधिवेशनबाट नरहरि आचार्यलाई पछि पार्दै गिरिजाप्रसाद फेरि सभापति निर्वाचित भएका थिए भने नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापतिमा शेरबहादुर देउवा थिए। २०६४ असोजमा दुई कांग्रेस एक भए।
बाह्रौं महाधिवेशन: २०६७ असोजमा कांग्रेस बाह्रौं महाधिवेशन काठमाडौंमा भएको थियो। शेरबहादुर देउवा र भीमबहादुर तामाङलाई पछि पार्दै सुशील कोइराला सभापतिमा निर्वाचित भए। तेह्रौं महाधिवेशनपूर्व नै सुशील कोइरालाको निधन भयो र कार्यवाहक सभापतिको जिम्मेवारी रामचन्द्र पौडेलले सम्हाले।
तेह्रौं महाधिवेशन: २०७२ फागुनमा कांग्रेसको तेह्रौं महाधिवेशन काठमाडौंमा नै भयो। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबिच सभापतिमा प्रतिस्पर्धा भयो। उनीहरू कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्। पछि धेरै मत ल्याउने दुई नेताबिचको प्रतिस्पर्धामा पौडेललाई पछि पार्दै देउवा सभापतिमा निर्वाचित भए।
चौधौं महाधिवेशन: २०७८ मंसिरमा कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंमा भयो। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए। पहिलो चरणमा आवश्यक ५० प्रतिशत मत नपाएपछि देउवा र शेखरबिचमा दोस्रो चरणमा प्रतिस्पर्धा भयो। देउवा सभापतिमा निर्वाचित भए।
२०८२ भदौमा भएको जेनजी विद्रोहसँगै कांग्रेसमा विवाद तीव्र बन्न पुग्यो। तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग भयो। तर संस्थापन पक्षले त्यसलाई स्वीकार गरेन। उनीहरूले पुसमा विशेष महाधिवेशन आयोजना गरेर देउवा नेतृत्व कार्यसमिति हटाएर थापाको नेतृत्वमा नयाँ समिति गठन गरेका छन्। त्यसलाई निर्वाचन आयोग र सर्वोच्चले सदर गरे पनि कांग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन छ।
यो पनि पढ्नुहोस्
किचलोबिच कांग्रेस महाधिवेशन: गठनदेखि नै शृंखलाबद्ध विवादप्रकाशित: १७ आश्विन २०८३ ०९:०६ शनिबार




-600x400.jpg)
-600x400.jpg)