अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका नाममा विषालु रसायन हालेर चिठी पठाएको पाइएको छ।
अमेरिकी अनुसन्धान एजेन्सीका अनुसार केही दिनअघि मात्र ह्वाइट हाउस र केही विभागमा विषालु पदार्थ हालिएको खाम पठाइएको रहस्य खुलेको हो।
ह्वाइट हाउसका एक अधिकृतले शनिबार भने, ‘यस्तै खतरनाक केमिकलसहितका खाम अन्य विभागमा पनि पठाइएको छ कि भनेर अनुसन्धान एजेन्सीले पत्ता लगाउने प्रयास गरिरहेका छन्।’
न्युयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ती खाम क्यानडाबाट पठाइएको आशंका छ। यस विषयमा एक महिलाप्रति शंका गरिएको छ तर उनको नाम सार्वजनिक गरिएको छैन।
वासिङटनमा आतंकवादविरुद्धको संयुक्त दस्ताले घटनाको अनुसन्धान गरिरहेको छ भने न्युयोर्कमा प्रहरीको विशेष टोलीले अनुसन्धान एजेन्सीलाई सघाइरहेको छ।
अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले यस्ता खाम पठाउने कार्यमा कुनै आतंकवादी संगठनको संलग्नता रहे–नरहेको खुलिनसकेको अमेरिकी अधिकारीले बताएका छन्। एक अधिकारी भन्छन्, ‘हामी अहिल्यै केही भन्न सक्ने अवस्थामा छैनौं।’
त्यस्तै अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले यूएस सेक्रेट सर्भिस र यूएस पोस्टल इन्सपेक्सन सर्भिसको सहयोगमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।
अमेरिकी अधिकारीका अनुसार यस्ता चिट्ठी यसअघि पनि आउने गरेका थिए। सन् २०१८ मा रक्षा मन्त्री जिम म्याटिसलाई यस्तै खाले खाम पठाइएको थियो। अनुसन्धानपछि नेवीका पूर्वअधिकृत सिल्ड एलिन पक्राउ परेका थिए। जुन मुद्दा अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ।
सन् २०१३ मा मिसिसिपीका एक व्यक्तीले तत्कालीन राष्ट्रपति बाराक ओबामा र एक रिपब्लिकन सिनेटरलाई रिसिनसहित खाम पठाएका थिए।सेनन रिचर्डसन नामकी ती महिलालाई १८ वर्ष जेल सजाय भएको थियो।
प्रकाशित: ४ आश्विन २०७७ ०७:२६ आइतबार