चीनले तिब्बतमा विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँधको निर्माणलाई स्वीकृति दिएको छ।
यार्लुङ साङ्पो नदीको तल्लो भागमा निर्माण हुने यो बाँधले वर्तमान विश्वको सबैभन्दा ठूलो जलविद्युत् आयोजना, थ्री गर्जेस बाँधको तुलनामा तीन गुणा बढी ऊर्जा उत्पादन गर्न सक्ने अनुमान छ।
चीनको यो कदमले विश्वव्यापी वातावरणीय प्रभावको चिन्तालाई बढावा दिएको छ। यसबाट सबैभन्दा धेरै प्रभावित भारत नै हुने देखिन्छ। चीनले तिब्बतको यार्लुङ जाङ्बो नदीमा, जहाँ नदी अरुणाचल प्रदेशतर्फ मोडिन्छ, विश्वकै सबैभन्दा ठूलो ब्रह्मपुत्र बाँध निर्माण गर्न लागेको छ।
यो ठूलो आयोजना चीनको १४औँ पञ्चवर्षीय योजनाको भाग हो, करिब १३७ अर्ब डलर खर्च हुनेछ। चीनको योजनाको पारदर्शिताको अभावले नयाँ दिल्लीलाई चिन्तित बनाएको छ, जसले गर्दा बाँधको सम्भावित प्रभावको बारेमा डर उत्पन्न भएको छ।
बाँधले भारतमा बाढी वा पानीको अभाव निम्त्याउन सक्छ, भारतको पानी आपूर्तिमा असर पर्नेछ। यसले भारतलाई चीनमा निर्भर बनाउन सक्छ र भूराजनीतिक तनाव बढाउन सक्छ, पानीको युद्धको बीज रोप्न सक्छ।
चीनले नियन्त्रण गरेको पानीको प्रवाहले सीमावर्ती क्षेत्रमा बाढी ल्याउन सक्ने भएकोले, भारत पनि अरुणाचल प्रदेशमा आफ्नो बाँध निर्माण गरिरहेको छ।
चीनका सरकारी सञ्चारमाध्यमले यसलाई ‘पर्यावरण संरक्षणलाई प्राथमिकता दिने सुरक्षित परियोजना’ को रूपमा वर्णन गरेका छन्। चीनले स्थानीय समृद्धिलाई बढावा दिने र बेइजिङको जलवायु तटस्थता लक्ष्यहरूमा योगदान पुर्याउने दाबी गरेको छ। तर, मानव अधिकार समूह र विज्ञहरूले यसको नकारात्मक प्रभावहरूको बारेमा चिन्ता व्यक्त गर्न थालेका छन्।
चीनले स्थानीयलाई विस्थापित गर्ने, प्राकृतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन ल्याउने र तिब्बती धरोहरसँगै विविध इकोसिस्टमलाई नै क्षति पुर्याउने चिन्ता छ। चीनले तिब्बती क्षेत्रहरूमा धेरै बाँधहरू बनाएको छ, जुन १९५० को दशकदेखि बेइजिङको कडा नियन्त्रणमा छ। बीबीसीका अनुसार यस वर्षको सुरुमा, चिनियाँ सरकारले जलविद्युत् बाँधको विरोध गरिरहेका सयौँ तिब्बतीहरूलाई बल प्रयोग गरेर नियन्त्रण गरेको थियो।
उनीहरु गङ्तुओ बाँध र जलविद्युत् प्लान्ट निर्माणको विरोध गरिरहेका थिए, जसले धेरै गाउँहरू विस्थापित गर्ने र पुरातन सम्पदासँगै पवित्र अवशेष डुब्ने डर छ। चीनले भने स्थानीयहरूलाई स्थानान्तरण र क्षतिपूर्ति प्रदान गरेर प्राचीन भित्ति चित्रहरूलाई सुरक्षित स्थानमा सारेको दाबी गरेको छ।
यार्लुङ त्साङ्पो बाँधको सन्दर्भमा, चिनियाँ अधिकारीहरूले यो परियोजनाले ठूलो वातावरणीय प्रभाव नपार्ने बताएका छन्। तर उनीहरूले कति जना विस्थापित हुनेछन् भन्ने बारेमा कुनै संकेत दिएका छैनन्।
थ्री गर्जेज बाँधको निर्माणले १४ लाख मानिसको पुनर्वास आवश्यक भएको थियो। विशाल विकासका लागि कम्तिमा चार २० किलोमिटर लामो सुरुङहरू नाम्चा बर्वा पहाडबाट निकाल्न आवश्यक छ, जसले तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ त्साङ्पोको प्रवाहलाई डाइभर्ट गर्नेछ। एजेन्सीको सहयोगमा
प्रकाशित: १२ पुस २०८१ २०:१५ शुक्रबार