१३ पुस २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा निरन्तर बढ्दै आँखाका बिरामी

भक्तपुरमा आँंखाका बिरामीहरूको संख्या निरन्तर उकालो लाग्दै गरेको देखिएको छ । पछिल्लो १९ वर्षमा यहाँं आँंखाका बिरामीहरूको संख्या प्रत्येक वर्ष निरन्तर बढ्दो रहेको तथ्यांकले देखाएको हो ।

ख्वप तीलगंगा आँंखा अस्पताल च्याम्हासिंह भक्तपुरले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरुको संख्या निरन्तर बढ्दो छ ।

अस्पतालले सन् २००६ बाट सेवा सुरु गरेको थियो । तथ्यांकअनुसार सेवा सुभारम्भ भएको पहिलो वर्ष सन् २००६ मा कुल दुई सय २१ जनाले सेवा पाएका थिए । यो क्रम बढ्दै अहिले वर्षमा ३१ हजार बढीले सेवा पाइरहेका छन् ।  

तथ्यांकअनुसार सन् २००७ मा तीन हजार एक सय ६०, सन् २००८ मा चार हजार पाँंच सय २५, २००९ मा ६ हजार नौ सय ५३, २०१० मा सात हजार सात सय चार, २०११ मा सात हजार आठ सय ४३, २०१२ मा आठ हजार पाँच सय ३१, २०१३ मा ११ हजार चार सय ७४, २०१४ मा १३ हजार आठ सय ७८, २०१५ मा १४ हजार नौ सय ८७, २०१६ मा १५ हजार आठ सय २२, २०१७ मा १८ हजार ४८ जना, २०१८ मा २० हजार ४२७ जनाको तथ्यांकले प्रत्येक वर्ष निरन्तर बिरामीको संख्या बढ्दो देखाएको हो ।

त्यसको अर्को वर्ष अर्थात् सन् २०१९ मा पनि बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ ।

सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ मा पुनः बढेर २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि सन् २०२२ मा फेरि बढेर २५ हजार पाँंच सय ७३ रोगी उपचारमा आए । सन् २०२३ मा फेरि बढेर ३१ हजार दुई सय ७९ जनाले सेवा लिएका थिए । त्यसपछि  भने सन् २०२४ को नोवेम्भरसम्म २५ हजार तीन सय ९९ जनाले सेवा लिएको तथ्यांक छ । बीमाबाट चश्मा वितरण बन्द भएकाले पछिल्लो वर्ष सन् २०२४ मा सेवाग्राहीको संख्या घटेको जनाइएको छ ।  

‘अस्पतालमा सेवा लिन आउने बिरामीहरुको संख्या प्रत्येक वर्ष बढ्दो छ,’ अस्पतालका इन्चार्ज धीरज अधिकारीले भने, ‘त्यसकारण अहिले हामी सेवा फराकिलो ठाउँंमा राखेका छौं ।’ अस्पताल अहिले भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिहस्थित भव्य ख्वप अस्पताल भबनको माथिल्लो तल्लामा छ ।  

ख्वप तीलगंगा आँंखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो अस्पताल अरु अस्पताल जस्तो नाफाको लागि नभई सेवाका लागि रहेकाले तुलनात्मक रुपमा कम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको सुनाए । काठमाडौंको तीलगंगा आँंखा अस्पताल भन्दा कम शुल्कमा आफूहरुले सेवा दिइरहेको उनको भनाइ थियो ।

तीलगंगा आँंखा अस्पतालका प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठले भक्तपुरका जनतालाई आँंखा उपचारको सेवा दिन भक्तपुर नगरपालिकासँंग मिलेर काम गरिरहेको जानकारी गराए । त्यसकारण यहाँंको नाम ख्वप तीलगंगा आँंखा अस्पताल राखेर कम शुल्कमा सेवा दिइरहेको उनले बताए ।

यहाँं नयाँं बिरामी चेकअपका लागि विशेषज्ञसहितिको सेवाको लागि प्रतिव्यक्ति रु. ८० र पुरानाका लागि रु ५० मात्रै टिकट शुल्क रहेको छ । अस्पतालमा शुक्रबार स्थानीय परियोजना सल्लाहकार समितिको बैठक पनि बसेको थियो ।

प्रकाशित: १२ पुस २०८१ २०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App