अमेरिकाको क्यालिफोर्निया राज्यको पूर्वी हलिउडमा रहेको ‘भर्मन्ट हलिउड’ रात्रि क्लबबाहिर एक व्यक्तिले भीडमाथि गाडी कुदाउँदा ३० जना घाइते भएका छन्।
लस एन्जल्स अग्नि नियन्त्रण विभागका अनुसार २३ जना घाइतेलाई अस्पताल र आघात केन्द्रहरूमा लगिएको छ, जसमध्ये सात जनाको अवस्था गम्भीर, छ जनाको मध्यम र दस जनाको सामान्य अवस्था छ।
लस एन्जल्स प्रहरी विभागले चालकको पहिचान २९ वर्षीय फर्नान्डो रामिरेजको रूपमा गरेको छ। प्रहरीका अनुसार उनलाई क्लबमा नशामा उत्पात मच्चाएको कारण बाहिर निकालिएको थियो। प्रारम्भिक अनुसन्धानले उनले नियतवश गाडी (निसान भर्सा) भीडमा कुदाएको देखाएको छ। गाडीले खाना बेच्ने ट्याको स्ट्यान्ड, भ्यालेट स्ट्यान्ड र भीडलाई ठक्कर दिएको थियो।
घटनापछि भीडले चालकलाई गाडीबाट निकालेर कुटपिट गरेको थियो। त्यस क्रममा एक व्यक्तिले उनलाई गोली हानेका थिए, उनको कम्मरमा चोट लागेको छ। चालकको शल्यक्रिया गरिएको छ। हाल स्थिर अवस्थामा रहेका उनी प्रहरी हिरासतमा छन्।
उनमाथि घातक हतियारसहित आक्रमणको आरोपमा अनुसन्धान भइरहेको छ। गोली हान्ने संदिग्ध, जसलाई प्रहरीले हिस्पानिक पुरुष (लगभग ५ फिट ९ इन्च उचाइ, ८१ किलोग्राम, टाउको खौरिएको, नीलो जर्सी लगाएको) को रूपमा वर्णन गरेको छ। फरार उनको खोजी भइरहेको छ।
घटनास्थलमा १२४ अग्नि नियन्त्रण कर्मचारी र प्रहरीले तत्काल उद्धार कार्य गरेका थिए। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको थियो। लस एन्जल्सकी मेयर करेन बासले यो घटनालाई ‘हृदयविदारक त्रासदी’ भन्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेकी छन्।
उनले पूर्ण अनुसन्धानको प्रतिबद्धता जनाएकी छन्। ‘भर्मन्ट हलिउड’ क्लबले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुख व्यक्त गरेको छ । प्रहरीसँग सहकार्य गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। एजेन्सी
प्रकाशित: ४ श्रावण २०८२ १२:०३ आइतबार





