९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने सरकारको घोषणा

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा एकसय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन्। आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उनले बताए।  

प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसंगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताए।  

उनले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताए।

प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भने, “अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ।”

उनले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती छ बताए। प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तिब्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट लुकेको छैन उनले भने।  

अस्ट्रेलियाली सेनाको क्षमता बिस्तार गर्न अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ। यसअघि १२४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा अब ३७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रलिया सरकारको भनाई छ।  

नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकू बिमानबाट प्रहार गर्न सकिने छ।

प्रकाशित: १७ असार २०७७ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App