coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया आक्रमणपछि टर्कीमाथि अमेरिकाको प्रतिबन्ध

वासिङ्टन (बिबिसी) – उत्तरी सिरिया गरिएको आक्रमणलाई लिएर संयुक्त राज्य अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले टर्कीका मन्त्रीहरु र उच्च सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाएको हो। यसका साथै वासिङ्टनले टर्कीबाट आयात हुने स्टीलमा करवृद्धि गर्ने निर्णय पनि गरेको छ। उसले टर्कीसँगको व्यापार सम्झौतासम्बन्धी वार्तासमेत रोकेको घोषणा गरेको छ।

अमेरिकी प्रतिबन्ध विशेषतः टर्कीको रक्षा र ऊर्जा मन्त्रालयप्रति केन्द्रीत रहेको छ। त्यसैगरी रक्षा, ऊर्जा र आन्तरिक मन्त्री पनि अमेरिकी प्रतिबन्धमा परेका छन्। वासिङ्टनको यस निर्णयले अमेरिकामा रहेका यी मन्त्रीहरुका सम्पत्ति रोक्का गरिएका छन् भने अमेरिकी आर्थिक प्रणालीमा उनीहरुको आर्थिक गतिविधिमा पनि प्रतिबन्ध लगाइएको छ।

‘टर्की सरकारको गतिविधिले निर्दोष सर्वसाधारणको जीवनलाई जोखिममा पारेको छ र यसले उत्तरी सिरिया क्षेत्रमा अस्थीरता सिर्जना गराउने छ,’ अमेरिकाले जारी गरेको विज्ञप्ति उद्धृत गर्दैै बिबिसीले उल्लेख गरेको छ।

उत्तरी सिरियाका कुर्दमाथि गरिएको आक्रमणप्रति असन्तुष्टि जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका टर्कीस् समकक्षी रेसेप तैयप एर्दोगानलाई टेलिफोनसमेत गरेको उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

टेलिफोन वार्तामा ट्रम्पले एर्दोगानलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको बताइएको छ। उपराष्ट्रपति पेन्सले ‘यथासक्य चाँडो’ सो क्षेत्रको भ्रमण गर्नेसमेत जिकिर गरेका छन्।

ह्वाइट हाउसमा बोल्दै पेन्सले भने, ‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्ध अझ कडा हुँदै जानेछन्।’

टर्कीलाई ‘हरियो संकेत’ दिँदै अमेरिकाले उत्तरी सिरियामा तैनाथ आफ्ना सेना फिर्ता लगेको भन्ने आरोप लागेपछि वासिङ्टनले टर्कीविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। गत साताबाट सुरु भएको टर्कीस् आक्रमण कुर्द नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडिएफ)लाई सीमा क्षेत्रबाट हटाउनका लागि गरिएको जिकिर अंकाराले गर्दै आएको छ। टर्कीले एसडिएफलाई आतंकवादी संगठनको संज्ञा दिँदै आएको छ।

टर्कीमा हाल बसोबास गरिरहेका सिरियाली शरणार्थीलाई पुनस्र्थापना गर्नका लागि टर्की सरकारले उत्तरी सिरियालाई ‘सुरक्षित क्षेत्र’ बनाउन चाहिरहेको छ। त्यसरी शरणार्थी जीवन बिताइरहेकामध्ये अधिकांश कुर्द नभएकाले टर्कीको यस्तो कार्यले स्थानीय कुर्दिस् जनसंख्या ‘जातीय सफाया’ मा पर्न सक्ने भन्दै आलोचकहरुले चेतावनी दिएका छन्।

केही दिनअघि सुरु भएको टर्कीको आक्रमणका कारण हालसम्म दर्जनौं मानिसको मृत्यु भइसकेको छ भने कम्तीमा एक लाख ६० हजार सो क्षेत्रबाट विस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

केही सहायता संगठनलाई सो क्षेत्रमा आफ्ना गतिविधि गर्नका लागि जबरजस्ती रूपमा रोक लगाइएको छ। सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडिएफ) ले सघाएको थियो। टर्कीले आक्रमण गर्ने वातावरण बनाउनका लागि अमेरिकी फौज फिर्ता हुने कार्य ‘पछाडिबाट छुरा धस्ने कार्य भएको’ एसडिएफले बताएको छ।

उत्तरी सिरियाको अस्थीरताले सो क्षेत्रमा आइएसको पुनः सक्रियता हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। सो क्षेत्रमा आइएसका हजारौं पूर्वलडाकु एवं उनीहरुका आफन्तलाई पक्राउ गरेर राखिएको छ। एउटा शिविरबाट त आइएस परिवारका हजारौं सदस्य भागेर गइसकेको बताइएको छ। टर्कीको आक्रमणबाट व्यापक दबावमा परेका कुर्द नेतृत्वको फौजले टर्कीसँग जुध्नका लागि आइतबार सिरियाली सरकारसँग सैन्य सहायताका लागि सम्झौता गरेको घोषणा गरेको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App