७ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानलाई नरोके तेलको भाउ आकासिने साउदीको चेतावनी

रियाद – साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इरानलाई नरोके पेट्रोलियम पदार्थको मूल्य कल्पनाभन्दा बाहिर गएर बढ्न सक्ने चेतावनी दिएका छन्।

उनले इरान र साउदी अरबबीचको युद्धले विश्वको अर्थतन्त्र ध्वस्त हुनसक्ने पनि बताएका छन्। दुई साताअघि साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा भएका ड्रोन हमलापछि साउदी युवराजको यस्तो चेतावनी सार्वजनिक भएको हो। सो आक्रमणको जिम्मेवारी यमनका विद्रोही हुथी समूहले लिए पनि साउदी अरब र अमेरिकाले भने सो आक्रमणको पछाडि इरानको हात रहेको आरोप लगाउँदै आएका छन्।

सिबिएस न्युजसँग बोल्दै अर्को फरक प्रसंगमा युवराज सलमानले पत्रकार जमाल खसोग्गीको हत्यामा आफ्नोे केही जिम्मेवारी रहेको स्वीकार गरेका छन्। तर उनले व्यक्तिगत रूपमै पत्रकार खसोग्गीको हत्याका लागि आदेश दिएको भन्ने आरोप भने अस्वीकार गरेको सिबिएसलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

साउदी राजसिंहासनका उत्तराधिकारी सलमानले नै व्यक्तिगत रिस साध्नलाई खसोग्गीको हत्या गराएको हुनसक्ने आशंका व्यक्त गरिँदै आएका छन्। ‘द वासिङ्टन पोस्ट’का स्तम्भकार पत्रकार खसोग्गी साउदी राजपरिवारका कडा आलोचकका रुपमा चिनिन्थे। उनको टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासभित्रै सन् २०१८ को अक्टोबर २ का दिन हत्या भएको थियो।

आइतबार प्रसारित सिबिएसको ६० मिनेट समाचार कार्यक्रमको अन्तर्वार्तामा बोल्दै युवराज सलमानले भने, ‘साउदी सरकारका लागि काम गर्ने व्यक्तिहरुबाटै पत्रकार खसोग्गीको हत्या भएकाले साउदी अरबको नेताका हैसियतले सो हत्याको जिम्मेवारी म लिन्छु।’

यद्यपि उनले खसोग्गीको हत्याका लागि प्रत्यक्ष रुपमा आफूले निर्देशन दिएको भन्ने विषय भने अस्वीकार गरेका छन् वा त्यसबेला उनको हत्या हुँदैछ भन्ने जानकारी आफूलाई भएको भन्ने आरोप पनि अस्वीकार गरेका छन्।

पत्रकार खसोग्गीको हत्यामा आफ्ना खराब एजेन्टहरुको हात रहेको साउदीले सो बेलादेखि नै बताउँदै आएको छ। उसले खसोग्गी हत्याको अभियोगमा ११ जनाविरुद्ध मुद्दा चलिरहेको दाबी पनि गर्दै आइरहेको छ।

सिबिएससँगको अन्तर्वार्तामा युवराज सलमानले यमनमा जारी गृहयुद्धको राजनीतिक समाधानका विषयमा पनि बोलेका छन्। यमनका हुथी विद्रोहीलाई परास्त गर्ने भन्दै साउदी अरब नेतृत्वको सेनाले इरानी समर्थन प्राप्त सो विद्रोही समूहसँग कैयौं वर्षदेखि युद्ध गरिरहेको छ।
युवराजको चेतावनीले के प्रभाव पार्न सक्छ ?

साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा यही सेप्टेम्बर १४ का दिन भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी इरानले गर्दै आइरहेको छ। सो आक्रमणपछि विश्वको तेल बजारमा ५ प्रतिशत कमी आएको छ भने त्यसले कच्चा तेलको मूल्यवृछि पनि गराएको छ।
तर साउदी अरबका शासकका रुपमा रहेका युवराज सलमानले इरानलाई रोक्नका लागि विश्वले यदि कडा कदम चाल्दैन भने आफूहरुले चाल्ने कदमले विश्वकै चासोलाई चुनौती सिर्जना गर्ने चेतावनी दिएका छन्।

‘तेलको वितरण अवरुद्ध हुनेछ र तेलको मूल्य कल्पनै नगरेको उच्च दरले बढ्नेछ, जुन हामीले हाम्रो जीवनकालमा देखेका छैनौं,’ साउदी युवराजले भनेका छन्।

उनले मध्यपूर्व क्षेत्रले विश्वकै ३० प्रतिशत उर्जा उपलब्ध गराइरहेको उल्लेख गर्दै २० प्रतिशत ग्लोबल ट्रेड प्यासेज र ४ प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पनि धानिरहेको उल्लेख गरेका छन्।  ‘कल्पना गर्नुस्, यी तीनवटै कुरा रोकिन्छन्। यस्तो हुनु भनेको विश्वकै अर्थतन्त्र ध्वस्त हुनु हो। साउदी अरबको मात्रै होइन, मध्यपूर्वका अन्य देशको पनि अर्थतन्त्र ध्वस्त हुनु हो,’ युवराजको चेतावनी उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App