१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इ–चुरोट प्रतिबन्ध गर्दै अमेरिका

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

खासगरी किशोरबीच निकै लोकप्रिय भइरहेको यस चुरोट (भेप)ले फोक्सोमा समस्या उत्पन्न हुने गरेको अध्ययनले देखाएका छन्। पछिल्ला केही अध्ययनले सुगन्धित इ–चुरोटको सेवन कै कारण पनि किशोर–किशोरीको मृत्यु हुने गरेको पाइएको छ।

ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प इ–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताएका छन्। ‘हामी दुवैले ती किशोरको व्यथा पढेका छौं,’ उनले भने, ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन् र इ–चुरोटको सेवनबाट मानिसको ज्यान गइरहेको छ।’

ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडिए)का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी थिए। इ–चुरोटको नियमन गर्ने एफडिए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो। त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता इ–चुरोटका बारेमा नयाँ नियम ल्याइने बताएका छन्।

‘सुर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित इ–चुरोट बजारमा अब बेच्न पाइने छैन,’ उनले भने।  उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी पनि दिएका छन्।

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित इ–चुरोट सेवन गर्ने गरेको देखिएको छ। अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका इ–चुरोट रुचाउने गरेका छन्। तत्कालका लागि सुर्तीको स्वाद भएका इ–चुरोटमा प्रतिबन्ध नलगाए पनि २०२० को मेदेखि उत्पादकले एफडिएबाट स्वीकृति लिनु पर्नेछ। ‘ग्रान्ड भ्यू रिसर्च’का अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको इ–चुरोट उत्पादन भएको थियो।

एफडिएको सर्वेक्षणमा समेटिएका इ–चुरोट सेवनकर्तामध्ये ४ सय ५० जनाभन्दा बढीले आफू बिरामी परेको बताएका थिए। उनीहरुले आफूलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए। कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नु परेको थियो।

एकजना बिरामीको बेहोस भएका कारण अस्पतालमा भर्ना गरिएको र होस खुलेपछि उनको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकले बताएका छन्।
अमेरिकी रोग नियन्त्रण केन्द्रले इ–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसलाई आग्रह गरेको छ। केन्द्रले यस चुरोटका बारेमा अनुसन्धान थालिएको जनाएको छ।
संयुक्त राज्य अमेरिकामा सन् २००६ देखि नै इ–चुरोट बजारमा देखिएको हो। परम्परागत सुर्ती सेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो तर विज्ञहरुले इ–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए।

परम्परागत चुरोटमा पाइने सात हजार किसिमका रसायन इ–चुरोटमा नहुने भएपनि केही तत्व निकै हानिकारक पाइएका छन्। इ–चुरोटको धुवाँमा धातुसमेत पाइएको अमेरिकी संसद्मा सन् २०१८ मा बुझाइएको एक प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य समस्या निम्त्याउन थालेको यस इ–चुरोटका बारेमा अहिले अमेरिकी समाज र राजनीतिक नेताले पनि चासो दिन थालेको पाइएको छ। राष्ट्रपति ट्रम्पको घोषणालाई अमेरिकाका दुवै दलले समर्थन जनाएका छन्। रिपब्लिकन पार्टीका प्रभावशाली नेता मिट रम्नी र डेमोक्र्याटका सिनेटर ह्वीप डिक डरबिनसहित धेरै डेमोक्र्याट नेताले राष्ट्रपतिको कदमको स्वागत गरेका छन्।

अमेरिकी अर्बपति व्यापारी एवं न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले मंगलबार इ–चुरोट प्रतिबन्ध लगाउने अभियानमा सघाउन १६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्। यस चुरोटलाई तत्काल प्रतिबन्ध लगाउन माग पनि उनले गरेका छन्।

प्रकाशित: २७ भाद्र २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App