हुन त कलाकार र राजनीतिक दलको साइनो पुरानै हो। धेरैजसो कलाकार कुनै न कुनै दलका छानामुनि वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएकै छन् । पदमा पुग्न केही कलाकार दलका शीर्ष नेताको नजिक भएर काम गरेको पाइएकै छ । तर पछिल्लो समय, विशेष गरेर चुनावताका कलाकारहरूको राजनीतिप्रति आकर्षण ह्वात्तै बढेको पाइन्छ । चुनावमा उठेर राजनीतिक छलाङ लगाउने उद्धेश्यले यो पटकपनि केही कलाकारहरु दलको टिकट लिएर मैदानमा उत्रिएका छन् ।
निशा अधिकारी
यहीबीच अभिनेत्री तथा मोडेल निशा अधिकारी पनि चुनाव लड्ने भएकी छिन्। गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निशा काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छिन्। क्षेत्र ५ कै मतदाता उनी हुन्।
अभिनेत्री निशाले चलचित्र ‘मिसन पैसा’ बाट चलचित्रमा प्रवेश गरेकी थिइन्। अभिनेत्री भन्दा अगाडी उनी मोडेल थिइन्। उनले सन् २०१३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल अवरोहण पनि गरेकी हुन्।
प्रकाश सपुत
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सुचीबाट उम्मेदवार बनेका छन्, अभिनेता तथा गायक प्रकाश सपुत। उनी समानुपातिक सूचीमा दलित पुरुषको कोटाबाट उम्मेदवार बनेका हुन् । सपुतको स्वरमा रहेका नेपाली लोकगीतहरू सुपरहिट छन्। उनका कतिपय गीतहरू जातीय छुवाछुतविरुद्धका छन् । उनले अभिनय गरेका चलचित्रहरु पनि चर्चित बनेका थिए । अहिले पनि सपुत अभिनित चलचित्र ‘मिरमिरे’ प्रदर्शनरत रहेको छ।
रिमा विश्वकर्मा
टेलिभिजन पत्रकारिता पृष्ठभूमिबाट अघि बढेकी अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्मा आफ्नो करियरको दोस्रो चरणको यात्रामा छिन्। राजनीतिमा होमिएकी उनी कूलमान घिसिङको अगुवाइमा खोलिएको ‘उज्यालो नेपाल पार्टी’ मा आवद्ध भएकी थिइन् । उज्यालोले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गयो । १२ दिनमै एकीकरण टुटेपनि रीमा रास्वपामै रहिन् । उनी अहिले रास्वपाबाट समानुपातिकतर्फ दलित महिलाको कोटाबाट उम्मेदवार बनेकी छन् ।
अनुष्का श्रेष्ठ
पूर्वमिस नेपाल अनुष्का श्रेष्ठको आकर्षण पनि त्यतिकै राजनीतिमा बढेर गएको देखिएको छ। रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुसार उनलाई आदिवासी जनजाति महिला क्लस्टरमा राखिएको छ। उनी नेपालको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ सन् २०१९ को विजेता हुन्। अनुष्का मिस नेपाल प्रतियोगितामा सहभागी हुनुअघि अस्टे«लियाको एक बैंकमा काम गर्ने गर्थिन। उनले मिस नेपाल लगायत अन्य सौन्दर्य प्रतियोगिता समेत जितेकी अनुष्का व्यावसायी समेत हुन्। उनी स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्।
रुपक घिमिरे
रास्वपाले आयोगमा दिएको ११० जनाको समानुपातिक सूचीमा मोडल तथा अभिनेता रुपक घिमिरे समेत परेका छन्। ‘मंगलबार उनी सामाजिक सन्जालमा रास्वपालाई समर्थन गर्दै लेख्छन्–‘तनहुँको आशीर्वाद लिएर आजदेखि चुनावी मैदानमा।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टीमा मतदान गरेर समृद्ध र सबल आर्थिक विकास सहित स्वर्णिम बिहानीको सपना साकार हुनेछ भन्ने आशा गरौं ।’
हुन त रास्वपाबाटअन्य कलाकारको नाम पनि बन्दसूचीमा थियो । केहीले नाम फिर्ता लिए, केहीको नाम पार्टीले आफैं हटायो । नाम हटाईकामध्येकी एक हुन् गायिका सत्यकला राई । आफू सूचीमा नअटाएपनि आफ्ना एजेन्डालाई अघि बढाउन उनले सूचीमा नाम भएकाहरूलाई आग्रह गरेकी छन् ।
प्रकाशित: ८ माघ २०८२ १५:१३ बिहीबार





